शुक्रबार, वैशाख १४, २०८१
03:25 | ०८:१०

बेलायतको ‘सेन्सस’ मा नेपाली लेखेर कसरी राष्ट्रिय पहिचान ?

कृष्णकुमार हेम्ब्या फ्रेब्रवरी २२, २०२१

बेलायतमा नेपाली समुदायको संख्या कति छ भनेर कोहीसंग आधिकारिक रेकर्ड छैन् । सन् १९९८ मा बीबीसी नेपाली सेवा कार्यालय भ्रमणताका तत्कालीन प्रमुख खगेन्द्र नेपालीले लगभग ७ हजार रहेको बताएका थिए । सेन्टर फर नेपाल स्टडिज यूके (सिएनएसयूके) ले गरेको जनगणना २००८ अनुसार ७२,१७३ रहेको सार्वजानिक भएको थियो । सरकारी आँकडाअनुसार सन् २००१ तिर ५,९४३ मा ८६ औं स्थानमा मात्र देखिएको नेपाली समुदाय २०१५ मा बढेर ५४, ६९५ जनसंख्या वृद्धि भएर नेपाल ३९ औं स्थानमा उक्लेको छ ।

सिएनएस यूकेले अहिले बेलायतमा नेपालीको जनसंख्या करिब ८५ हजार रहेको दावी गरेको छ । गैर आवासीय नेपाली संघ यूकेसंग आधिकारिक तथ्याङ्क नभएपनि नेपालीको संख्या करिब डेढ लाख पुगेको दावी छ । मोतीलाल सिंह सन् १८३० तिर बेलायत बसोवास गर्ने पहिलो नेपाली हुन् भन्दै डा. कृष्ण अधिकारीले एउटा पुस्तिकासमेत निकालेका छन् ।

केही गोर्खा सेना १९६० दशकतिर बेलायती महिला बिवाहगरी यतै वसेका र सोही समयतिरै भारतीय रेष्टुरेण्टुमा काम गर्न यता छिरेका नेपालीलाई पहिलो पुस्ता मानिन्छ । २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछि राजनैतिक दलमा आवद्ध कार्यकर्ताहरु नेताको झोला बोकेर आउने र यतै लुक्न थाले । नेपाली कांग्रेस र विघटित एमाले कार्यकर्ताका संख्या अत्यधिक हुनका कारणपनि यही हो । सन् २००४ अक्टोवर २४ मा भूपू गोर्खाहरू ब्रिटेनको अस्थायी आवासीय प्रवेशाज्ञाको हकदार भएपछि यहाँ प्रवेश गर्ने नेपालीहरुको संख्यापनि ठूलै छ ।

गृहमन्त्रालयको अभिलेखअनुसार सन् १०१७ सम्ममा ३३ हजार ७ सय ४० नेपालीले ब्रिटिश नागरिकता प्राप्त गरि सकेका छन् । बाँकी नेपाली अस्थायी आवासीय भिसामा यहाँ बसोवास गरिरहेका छन् ।

बेलायतको आसन्न राष्ट्रिय जनगणना—२०२१ मा फारम भर्दा नेपाली समुदायमा केही गम्भीर प्रश्नहरु उठेका छन् । खासगरी प्रश्न नम्बर १४ मा नेशनल आइडेन्टिटी र १५ मा एथ्नीक ग्रुप भर्न केही दोधारमा र धेरै चाहिं ठूलो भ्रममा छन् ।

नेशनल आइडेन्टिटीको प्रश्नमा आफ्नो जातीय पहिचान आर्य, खस, याक्थुङ, गुरुङ, सुनुवार, मगर, वान्तवा, चाम्लिङ, तामाङ, थारु आदि लेखौं भन्दा धेरै बुज्रुक साथीहरुले खुब चित्त दुखाएका छन् । नेशनल आइडेन्टिटीमा नेपाली र यहांको नागरिक भइ सकेकाहरु सगौरव ब्रिटिश लेख्ने तयारीमा छन् । लाहुरे समुदायका हाम्रा केही नेताहरु गोर्खा लेखौं भन्दै अभियानसमेत सञ्चालन गर्न थालेका छन् ।

नेशनल आइडेन्टिटी प्रश्नमा ‘नेपाली’ राख्यौं भने ‘टाउको दुखेको औषधी नाइटोमा लाई’ नेपाली उखानजस्तै भयो । तिम्रो नागरिक (सिटिजन) के हो भनेर सोधिएको भए नेपाली लेख्नै पर्छ ।

व्यक्तिको राष्ट्रियता नागरिकतासंग सम्वन्ध छैन् । नागरिकता राज्य (स्टेट) ले दिने हो । द्वैध नागरिकता लिनेको राष्ट्रियता एकभन्दा धेरै हुन्छ त ? व्यक्तिको राज्य र नागरिकता परिवर्तन हुन पनि सक्छ तर राष्ट्रियता किमार्थ हुंदैन । राज्यसंग निश्चित साँध सिमाना, राष्ट्रिय झण्डा, राष्ट्रिय गानदेखि नियम कानून हुन्छन् । राज्यले प्रदान गरेको नेपाली नागरिकता राजनीति र राज्य सञ्चालन सहजका लागि मात्र हो । तुक शब्दमा, तिमी उठ, बस, यो खाऊ त्यो नखाऊ भनेर तह लगाउने एउटा प्रशासनिक हतियार मात्र हो नागरिकता ।

नेशनल आइडेन्टिटी त मान्छे जन्मनु अघि नै पुख्र्यौंउली विरासतबाट लिएर आएका हुन्छन् । राष्ट्रियता मुलत कुनै खास समुदायको समान इतिहास, भाषा, धर्म, संस्कृति, संस्कार, परम्परा र मानिसहरुको साझा सभ्यताको आधारमा विकसित हुने साझा मनोवैज्ञानिक अवधारणा हो । एथ्नीक ग्रुपपनि कुनै विशेष सम्प्रदायलाई जनाउंछ ।

यो पृथ्वीमा तामिल, कुर्डिस, शिख, जिप्सी, जुलु, कंगो ३० करोड भन्दा धेरैको राज्य छैन् तर उनीहरुको राष्ट्रिय पहिचान (नेशनल आइडेन्टिटी) छ । सन् १९४८ उता इजरायल नामको राज्य थिएन तर यहुदी राष्ट्र थियो ।

हामी आफ्नो राष्ट्रियतामा भ्रममा नपरौं । हजारौं वर्षदेखि यही देशमा रहेपनि बेलायती नागरिकहरुको राष्ट्रिय पहिचानअनुसार इंगलिस, स्कटिस, वेल्स्, आइरिस फरक लेख्छन् । याक्थुङ समुदायमा जन्मेका कुनै एक लिम्बुको छोरा नेपाली, भारतीय, बेलायती, अमेरिकी, बर्मेली विश्वका कुनै देशको नागरिक भएपनि उसको राष्ट्रिय पहिचान ‘याक्थुङ’ हो ।

नेशनल आइडेन्टिटीमा खस, याक्थुङ, गुरुङ, आर्य, सुनुवार, मगर, वान्तवा, चाम्लिङ, तामाङ, थारु आदि आफ्नै राष्ट्रिय पहिचान देखाउंदा नेपाल र नेपाली नागरिकताको मानमर्दन हुने प्रश्नै आउंदैन् । बाहुनको छोरोले नेशनल आइडेन्टिटीमा ‘आर्य’ लेख्दा लज्जावोध हुने कि गर्व ? कथित नेपाली राष्ट्रियताको अवधारणा साठी सत्तरी वा धेरै भनेको साढे दुईसय वर्ष पहिलेमात्र निर्माण भयो । नत्र आर्य सम्प्रदायले हजारौं वर्ष पहिले निर्माण गरेको समृद्ध र लोभ लाग्दो सामाजिक चेतना, गुरुकुल शिक्षा पद्धति, साहित्य, औषधि विज्ञानजस्ता जीवनोपयोगी ज्ञान विज्ञानका अनेक आयमहरु ‘खुर्पाको बीँड’ हुने भयो ।

फाराम भर्दा कुन प्रश्नमा के भर्ने आफ्नो विवेकले गर्ने हो । तर आफ्नै राष्ट्रिय पहिचान बिर्सेर नेपाली, गोर्खा, ब्रिटिश लेखेर आफ्नै पुर्खालाई लात नहानौं ।

(बेलायत बस्दै आएका लेखक हेम्ब्या भूतपूर्व गोर्खा सैनिक हुन् । प्रस्तुत विचार उनका निजी हुन्- सम्पादक) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू