शनिबार, वैशाख ८, २०८१
12:39 | १७:२४

मास्टरसेफ फाइनालिस्ट सन्तोष नेपाल पुग्दा बाजागाजासहित स्वागत

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२१


लन्डन । ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स् २०२०’ को फाइनलसम्म पुग्न सफल नेपाली सेफ सन्तोष साह नेपाल पुग्दा न्यानो स्वागत पाएका छन् । उनलाई बिहिबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमै बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

बुधबार लन्डनबाट टर्किस एअरको जहाजमा उडेका सन्तोष बिहिबार बिहान सवा ११ बजे काठमाडौं उत्रिएका थिए । जहाँ उनलाई प्यासिफिक एशिएन ट्राभल एशोसिएसन (पाटा), नेपाली सेफ एशोसिएन लगायतका संघसंस्थाका प्रतिनिधिसंगै काठमाडौंस्थित विभिन्न होटेलका सेफहरु, होटेल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु लगायतले स्वागत गरे ।

सन्तोष आउने थाहा पाएर उनका थुप्रै प्रशंसक, शुभचिन्तकहरुदेखि काठमाडौंमा रहेका उनका जिल्लावासी समेत विमानस्थल पुगेका थिए ।

काठमाडौंमा महिलाहरुले सञ्चालन गरेको नौमती बाजाको समूह पनि सन्तोष आउने खबरले स्वस्फूर्त रुपमा बाजागाजासहित विमानस्थल पुगेको थियो । सन्तोषको स्वागतमा विमानस्थल पुग्नेहरुले हातमा सन्तोषको तस्विरअंकित ब्यानर, पोस्टरहरु बोकेका थिए ।

‘कोरोना महामारीको असहज अवस्था छ भनेर मैले आमा, दाजुहरुलाई पनि काठमाडौं आउनुपर्दैन भनेको थिएं । तर म विमानस्थल पुग्दा अरु धेरैजना जम्मा भइसक्नु भएको रहेछ’, सन्तोषले काठमाडौंबाट नेपाली लिंकसंग भने, ‘मप्रति स्वस्फूर्त रुपमा व्यक्त यस्तो सम्मान र माया देख्दा म हर्षविभोर छु ।’

होटेलमा सरप्राइज

विमानस्थलमा उत्रिएलगत्तै ठूलो स्वागत पाएका सन्तोषलाई होटेल पुग्दा झन् ‘सरप्राइज’ मिल्यो ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज हाटेलको प्रांगणमा सन्तोषको स्वागतमा उनको तस्विरसहितको ठूलो ब्यानर झुण्ड्याइएको थिया । होटेलका सेफहरुसहित सबै कर्मचारी सन्तोषको स्वागत पर्खाइमा थिए ।

होटेलभित्र सन्तोषका लागि बुक गरिएको कोठामा ‘सेफ सन्तोष साह’ भनेर नाम प्लेट लगाइएको थियो । होटेलका सञ्चालकले सन्तोष बसेको कोठालाई सधैको लागि उनकै नाममा नामाकरण गर्ने बताएको सन्तोषले बताए ।

कस्तो  छ नेपालमा व्यस्तता ?

सन्तोष दुई महिनाको बिदामा नेपाल गएका हुन् । अप्रिल अन्तिम साता बेलायत फर्किने उनको योजना छ तर समय अपुग भए अझै केही दिन थप गर्ने उनको सोच छ ।

बिहिबार काठमाडौं पुगेका सन्तोष पार्क भिलेज होटेलमै ५ दिन क्वारेन्टिन बस्नेछन् । क्वारेन्टिन अवधि पूरा भएलगत्तै मार्चको शुरुदेखि उनको व्यस्तता बढ्नेछ ।

सन्तोष मार्च ५ मा प्यासिफिक एशिएन ट्राभल एशोसिएसन (पाटा) ले गर्ने कार्यक्रममा अतिथि वक्ताका रुपमा सहभागी हुन नेपाल गएका हुन् । सो संस्थाले हरेक वर्ष एकजनालाई दिने विशेष अवार्ड यस वर्ष सन्तोषलाई प्रदान गर्दैछ ।

आफ्नो परिवार भेट्न सिरहा पुग्नुअघि झण्डै दुई साता सन्तोषले काठमाडौंमा बिताउनेछन् । नेपालका सेफहरुसंग चन्द्रागिरी डाँडामा जमघट र सेलिब्रेट गर्नेदेखि नेपालका लागि बेलायती राजदूतसंग भेट्ने, सेफ एशोसिएसनको कार्यक्रममा भाग लिने, सेफहरुसंगै कालिमाटी तरकारी बजार अवलोकलन गर्नेसम्मका थुप्रै कार्यक्रम तय छन् । नेपालका चर्चित मिडियाहरुका लागि अन्तरवार्ता दिन समेत उनी व्यस्त रहनेछन् ।

मार्चको १०/१२ मा सिरहाको कर्जन्हवास्थित आफ्नो घर जाने योजना सन्तोषको छ । जहाँ उनकी वृद्धा आमासहितको परिवार उनको पर्खाइमा छन् । सन्तोषको गाउँलेहरुले उनको अभिनन्दन गर्ने कार्यक्रम समेत बनाएका छन् ।

पारिवारिक भेटघाटपछि सन्तोष नेपालका विभिन्न क्षेत्र घुम्ने योजनामा छन् । फरक फरक क्षेत्रका स्वादहरुबारे अध्ययन गर्ने र त्यही ‘इन्सपिरेसन’ बाट आफ्नो किताब तयार पार्ने उनको सोच छ ।

हुन्छ त बिहे ?

सन्तोषले मास्टर सेफको प्लेटफर्मबाट चर्चा कमाइरहँदा उनकी आमाले मिडियामा छोरोको बिहे हेर्ने रहर व्यक्त गरेपछि उनको विवाहका बारेमा पनि प्रशस्त चर्चा भएको थियो ।

काठमाडौं पुगेका सन्तोषलाई यसपटक उनको विवाहको पनि योजना छ कि भनेर सोध्दा उनले भने, ‘खै, त्यस्तो योजना गरिसकेको छैन । अरु कामहरुमै धेरै व्यस्त हुन्छु होला । तैपनि विवाह भन्ने कुरा लेखेको हुन्छ भन्छन्, मलाई कहिले लेखेको छ, हेर्दै जानुपर्ला ।’

बीबीसी मास्टर सेफमा नेपाली खानासहित पहिलोपटक सहभागी भएका सेफ सन्तोष फाइनलसम्म पुगे र उपविजेता बने । नेपाली खानालाई विश्वबजारमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका उनले देश विदेशका नेपालीमाझ ठूलो चर्चा र लोकप्रियता कमाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू