शनिबार, वैशाख ८, २०८१
15:07 | १९:५२

प्रधानमन्त्री ओलीको राजीनामाबारे नेकपाभित्र छलफल हुने

रासस फ्रेब्रवरी २४, २०२१


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शक्तिपृथकीकरण, लोकतन्त्रका मूल्यमान्यता र विधिको शासनमा विश्वास गर्ने जनाउँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएकाले उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिने जानकारी दिए । उनले सर्वोच्च अदालतको फैसला सधैँभरि अपेक्षित नहुने र अवाञ्छित परिमाण नै दिन्छन् भन्ने पनि नरहेको बताए ।

“हाम्रो चिन्ता र नेपाली जनताको चाहना स्थिर सरकार, स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व नै छ । यी कुरालाई फैसलाले बल पुरयाउँछ वा मुलुक भोलिका दिनमा अस्थिरतातर्फ जान्छ भन्ने कुरा पर्खनुपर्दछ”, उनले बैठकपछि भने ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने र त्यसबाट आवश्यक सुझाव लिइने तथा नेकपाले देशका विभिन्न ठाउँमा राखेका कार्यक्रमको स्वरुप परिवर्तन गरेर निरन्तरता दिने निर्णय गरिएको जानकारी उनले दिए ।
संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । संसद् निर्धारित समयमा नै आह्वान हुने पनि उनले जानकारी दिए ।

“मुलुकमा फेरि राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक र नीतिहीन गठबन्धन बन्छ । त्यसैले पहिले जे कारणले संसदीय व्यवस्थाप्रति आलोचना र जनतामा वितृष्णा बढ्यो, त्यो स्थिति फेरि नहोस् भन्नाका लागि मुलुकले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसंँग छलफल गर्छौँ”, उनले भने ।

राजीनामाबारे छलफल हुने
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको राजीनाबारे विभिन्न दलसँग छलफलपछि मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिए । उनले मुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्ने पनि बताए ।

“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुपरयो,” उनले भने, “मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए । उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताए । एकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ ।

सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने नेकपाको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो ।

बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई खारेज गरेर पुनःस्थापित गर्ने फैसलालाई उच्च मूल्याङ्कन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “त्यसले प्रतिनिधिसभा पुनःस्थापना मात्र गरेको छैन, संविधान र लोकतन्त्रको पनि रक्षा गरेको छ । यसले देशलाई प्रतिगामी षड्यन्त्रको चक्रब्यूहमा, राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट बचाउन योगदान पुरयाएको छ”, बैठकपछि उनले भने ।

बैठकले विघटनविरुद्धको आन्दोलनमा सक्रिय हुने सबै राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी र आम जनसमुदायलाई धन्यवाद दिएको छ ।

प्रवक्ता श्रेष्ठले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम न्यायालयले असंवैधानिक ठहर गरिसकेको अवस्थामा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पनि बताए । “प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भनेका थियौँ, तर अहिलेसम्म भएको छैन्”, उनले भने, “अदालतको फैसलाअनुसार अब छिट्टै संसद्को बैठक बस्दैछ । सो बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अघि बढ्छ ।”

आफूहरु जहिले पनि पार्टी एकताका पक्षमा रहेको दोहोरयाउँदै प्रवक्ता श्रेष्ठले भने, “हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौँ, संविधान र लोकतन्त्रका पक्षमा, जनमुखी विकासका पक्षमा जान सकिएन भनेर बहस चलाएका थियौँ ।”

उनले अगाडि भने, “पार्टीलाई फुटाउने, चोइट्याउने प्रयत्न भएकाले हामीले त्यसको विरोध गरेका हौँ, अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ । तर पार्टी एकतालाई प्रहार गर्ने, गुट र फुटमा रमाउने त्यस क्रममा संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आत्मालोचना नगरे पार्टी एकता ‘कुरा’ मात्रै हुन्छ ।”

प्रधानमन्त्रीले आफूले चालेको कदमप्रति आत्मालोचना नगरेसम्म पार्टी एकता हुन नसक्ने जिकिर गर्दै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर गल्ती गरेको स्वीकार गरे एकता सम्भव हुने श्रेष्ठले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा अध्यक्षद्वयको भेटका विषयमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले मुलुकलाई स्थिरतातर्फ लैजान सबै लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रष्ट पारे । बैठकले भ्रममा परेर बाटो बिराएका नेता, कार्यकर्तालाई मूल पार्टीमा फर्कन पनि आह्वान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू