शुक्रबार, चैत १६, २०८०
00:04 | ०५:४९

एनबीसी यूकेको ११ औं वार्षिकोत्सवमा नेपालका सेलिब्रेटीहरुको भीड हुने

नेपाली लिङ्क फ्रेब्रवरी २०, २०२१


लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूकेले आउंदो मार्च ६ शनिबार स्थापनाको ११ औं वार्षिकोत्सव मनाउने भएको छ । कोरोना महामारीका कारण बेलायत लकडाउनमा रहेकाले ‘भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउन लागिएको हो ।

संस्थाले कार्यक्रमलाई ‘विशेष मनोरन्जन २०२१’ नामाकरण गरेको छ जसमा नेपालका चर्चित सेलिब्रेटीहरुले प्रस्तुति दिने कार्यक्रम छ । बेलायतको समय अनुसार दिउसो २ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रममा लोकप्रिय गायक-गायिकाहरु राज सिग्देल, एलिना चौहान, संगीतकार गायक वसन्त सापकोटा, कवि नवराज पराजुली, हांस्यकलाकारहरु मनोज गजुरेल र जितु नेपाल लगायतले प्रस्तुति दिने तय भएको छ ।

करिब दुई घण्टा हुने कार्यक्रममा संस्थाकै आयोजनामा तीन वर्ष अगाडि लन्डनमा भएको कविता कन्सर्टमा सहभागी स्थानीय श्रष्ठाहरु नृपेश उप्रेती, रमेश कायस्थ, मन्जु भण्डारी, फडिन्द्र भट्टराई, नारायण गाउंले तथा कलाकारहरु आशिषराज र दीपक थापाले पनि मनोरन्जन दिने कार्यक्रम छ ।

संस्थाले वार्षिकोत्सवबारे जानकारी दिन शनिबार गरेको एक पत्रकार सम्मेलनमा संस्थाका संयोजक राज ओझाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारे । उनले कोरोना कहरले सबैजना आक्रान्त भएका बेला बेलायतवासी नेपाली समुदायका साथै देश विदेशमा छरिएर रहेका समस्त नेपालीहरुको मुहारमा थोरै हांसो ल्याउने उद्देश्यले मनोरन्जनात्मक कार्यक्रमको परिकल्पना गरिएको बताए ।

संस्थाका सांस्कृतिक संयोजक किरण अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने संस्थाका सचिव रविन्द्र अधिकारीले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । संस्थाका न्यूज एण्ड मिडिया संयोजक जगन कार्कीले प्रश्नोत्तर कार्यक्रमको मध्यस्तता गरेका थिए ।

बेलायतमा दर्ता भएको उक्त च्यारिटी संस्था एनबीसी यूकेले नेपाल तथा बेलायतमा विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू