मंगलबार, वैशाख ११, २०८१
11:34 | १६:१९

‘फर्लो’ र ‘बिजनेस रेट होलिडे’ लम्ब्याउने बेलायतको तयारी

'फर्लो स्किम' जुन अन्त्यसम्म पुरयाउने गृहकार्य

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२१

लन्डन । बेलायत सरकारले ‘फर्लो स्किम’ लम्ब्याउने तयारी अघि बढाएको छ । कोरोना महामारीका कारण बन्द तथा प्रभावित कम्पनीमा कार्यरत कामदारको ८० प्रतिशत तलब सरकारले नै व्यहोर्ने स्किम आउँदो ‘समर सिजन’ सम्म पुरयाउने तयारी सरकारले गरेको हो ।

बेलायती मिडिया डेली मेलका अनुसार बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले आउँदो मार्च तारिखमा बजेटसंगै फर्लोको म्याद बढाउने घोषणा पनि गर्नेछन् । फर्लो स्किमसंगै बेलायत सरकारले ‘बिजनेस रेट होलिडे’ पनि लम्ब्याउने तयारी गरेको छ ।

गत वर्षको मार्च महिनामा लकडाउन शुरु भएसंगै घोषणा गरिएको फर्लो स्किम आउँदो अप्रिल महिनामा सकिंदैछ । महामारीबाट प्रभावित रिटेल, हस्पिटालिटी, लिजर लगायत व्यवसायका लागि दिइएको बिजनेस रेट छुटको म्याद आउँदो मार्चमा पूरा हुंदैछ ।

बेलायत सरकारले फर्लो स्किमलाई दुई महिना थप गरी जुन अन्त्यसम्म पुरयाउने गृहकार्य गरिरहेको बताइएको छ । फर्लो स्किमका लागि मात्रै बेलायत सरकारले मासिक ५ विलियन पाउण्ड खर्च गरिरहेको बताइन्छ । थप दुई महिना म्याद बढाउँदा अर्को १० विलियन पाउण्ड बजेट खर्च हुनेछ ।

बेलायतका व्यवसायिक प्रतिष्ठानहरुले सरकारले राहत सुविधाहरुको म्याद थप गर्ने तयारी गरेकोमा स्वागत गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले महिनौंदेखि लागू लकडाउनबाट बाहिरिने सम्बन्धमा सरकारको चरणबद्ध योजना आउँदो सोमबार घोषणा गर्दैछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू