शुक्रबार, वैशाख ७, २०८१
02:22 | ०७:०७

इंग्ल्याण्डको जनगणनाबारे जानकारीमूलक अन्तरक्रिया आइतबार

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१


लन्डन । इंग्ल्याण्डमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिता बढाउन एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदले सक्रियता बढाएको छ ।

परिषदले आउँदो आइतबार जनगणनामा सहभागितासम्बन्धी एक जानकारीमूलक अन्तरक्रियाको तयारी गरेको छ ।

परिषदका अध्यक्ष दिपक श्रेष्ठले अन्तरक्रियामा बेलायतस्थित झण्डै दुई सय नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए । त्यसअवसरमा ‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) का ग्रीनवीच क्षेत्रका ‘कम्युनिटी एड्भाइजर’ समिर गुरुङले जानकारीमूलक ‘प्रिजेन्टेसन’ गर्नेछन् ।

‘जनगणनामा सहभागी हुनुको महत्व दुरगामी रुपमा हुँदोरहेछ । बेलायतमा यति ठूलो संख्यामा रहेको हाम्रो नेपाली समुदायको पहिचान स्थापित गर्न पनि यो एउटा अवसर हो’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जनगणनामा कुनै नेपाली नछुट्ने गरी हामीले प्रचार प्रसार र जनचेतना फैलाउने लक्ष्य राखेका छौं ।’

समुदायलाई जनगणनाको महत्व बुझाउनेदेखि सहभागिताका क्रममा आवश्यक पर्न सक्ने प्रक्रियागत र प्राविधिक सहयोगसम्म उपलब्ध गराउने गरी तयारी गरिरहेको उनले बताए ।

परिषदले ओएनएससंग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहेर काम गरिरहेको बताएको छ । ‘जनणनासम्बन्धी जानकारी र सूचनाहरु नेपालीमै पनि सम्प्रेषण गर्न सके प्रभावकारी हुन्छ भन्ने लागेर केही सामग्रीहरु तयारी गर्दैछौं’, परिषदका सचिव गोविन्द खरेलले भने, ‘हामीले पहिलो चरणमा तयार गरेको नेपाली भाषाको पोस्टरलाई ओएनएसले स्वीकृति दिइसकेको छ, अब व्यापक रुपमा प्रकाशन र वितरण गर्नेछौं ।’

आइतबार बिहान ११ बजेका लागि तय ‘भर्चुअल’ अन्तरक्रियामा सहभागी हुन परिषदले बेलायतवासी सबै नेपाली र संघसंस्थाका प्रतिनिधिलाई आव्हान गरेको छ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पनि बेलायतवासी सबै नेपालीलाई जनगणनामा सक्रियतापूर्वक सहभागी बन्न अपील गरेकी छन् । समुदायको सहभागिता बढाउने लक्ष्यमा इंग्ल्याण्ड राज्य समन्वय परिषदमार्फत अघि बढाइएको अभियानमा साथ दिन उनले संघसंस्थाहरुलाई पनि आग्रह गरेकी छन् ।

कार्यक्रमको जुम लिंक निम्नानुसार छ:

https://us02web.zoom.us/j/7853029106?pwd=by9FSGN0MGxkQ0lFTU8vTmtmOG44Zz09

Meeting ID: 785 302 9106

Passcode: Nrnascc

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू