बिहीबार, वैशाख ६, २०८१
18:25 | २३:१०

जापानमा कोरोनाका कारण जारी सङ्कटकाल लम्बियो   

रासस-सिन्ह्वा फ्रेब्रवरी २, २०२१

टोकियो । जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भइ नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोभिड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाल थप एक महिनाका लागि विस्तार गरेका हुन् ।

सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐची, गीफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरुमा रहेको कोभिड–१९ सङ्कटकाललाई थप बढाउने सरकारले घोषणा गरेको छ ।

यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपतकालिन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताएका छन् । दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन् ।

जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरुका लागी जनवरीमा सङ्कटकाल घोषणा गरेको थियो ।

आपतकालिन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ ।

जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू