शुक्रबार, चैत १६, २०८०
11:50 | १७:३५

अल्डरसटमा बिना अपोइन्ट्मेन्ट पहिलो दिनमै डेढ सय नेपालीले लगाए कोभिड खोप

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२१

लन्डन । बेलायतको अल्डरसटमा बस्ने नेपाली वृद्धवृद्धाहरुलाई सहज ढंगले कोभिड खोप दिलाउनको लागि गरिएको विशेष व्यवस्थाबाट पहिलो दिनमै सय बढी लाभान्वित भएका छन् ।

७० वर्ष उमेर कटेका स्थानीय नेपालीहरुका लागि बिना अपोइन्ट्मेन्ट कोभिड खोप लिन सकिने सुविधा दिइएको पहिलो दिन सोमबार नै झण्डै डेढ सय जनाले यो लाभ लिएका हुन् ।

अल्डरसटको प्रिन्सेस हलस्थित खोप वितरण केन्द्रमा स्वयमसेवकका रुपमा दिनभर खटिएका शिव कल्चरल सेन्टरका सचिव विक्रम भट्टराईले अपोइन्टमेन्ट लिएर आउनेहरु बाहेक सिधै लाइन बस्न आउने झण्डै डेढ सय जनाले खोप पाएको नेपाली लिंकलाई जानकारी दिए ।

यसअघि एनएचएसको पत्र पाएर अपोइन्टमेन्ट बुकिंग गर्नुपर्ने प्रक्रियाको झञ्झटका कारण खोपबाट वञ्चित बनेका ती वृद्धवृद्धाहरुले सोमबार सिधै लाइन बसेर खोप लिएका हुन् । सोमबारदेखि शुक्रबारसम्मको लागि बिना अपोइन्टमेन्ट खोप लिन पाइने सूचना पाएपछि सोमबार बिहानैदेखि नेपाली वृद्धवृद्धाहरु खोप केन्द्र पुगेर लाइनमा बसेका थिए ।

‘आज अपोइन्टमेन्टबिनै खोप लिन आउने कतिले एनएचएसको पत्र नपाएको बताउनुभयो । कतिपयले भने पत्र पाएर पनि प्रक्रियाको झञ्झटका कारण अपोइन्टमेन्ट बुक गर्न सक्नुभएको रहेनछ’, भट्टराईले भने, ‘यस्तै समस्या झेल्ने नेपाली वृद्धवृद्धाहरुले अब खोप पाउनुहुनेछ भन्ने हामीले आशा राखेका छौं ।’

बेलायतमा ८० वर्ष उमेर कटेका बाहेक अरु सबैलाई कोभिड खोप लिन अपोइन्ट्मेन्ट लिनु जरुरी छ । खोप लिने निम्तोसहितको एनएचएसको पत्र प्राप्त भएपछि मात्रै अपोइन्टमेन्ट बुक गर्न सकिन्छ ।

अल्डरसट क्षेत्रमा बस्दै आएका भूतपूर्व गोर्खा वृद्धवृद्धालाई भाषा र प्रक्रियागत जानकारीको अभावमा अपोइन्टमेन्ट बुक गर्न कठिनाई भएपछि ७० वर्ष कटेका नेपालीको लागि विशेष व्यवस्था गराइएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासेले बताए ।

‘प्रक्रियागत झञ्झटका कारण हाम्रो समुदायका कुनै सदस्य पनि कोभिड खोपबाट वञ्चित हुनु नपरोस् भनेर हामीले पहल गरेका हौं’, आसन्न स्थानीय निर्वाचनमा अल्डरसट क्षेत्रका काउन्सिलर उम्मेदवार समेत रहेका वेल्बासेले नेपाली लिंकसंग  भने, ‘ग्रेटर रश्श्मोर नेपाली कम्युनिटी, स्थानीय काउन्सिल एवम् नेपाली समाजका अभियन्ताहरुको विशेष पहलबाट यो सुविधा सम्भव बनेको हो ।’

अल्डरसटको प्रिन्सेस हलस्थित खोप केन्द्रमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीसहितका नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अभियन्ताहरु स्वयमसेवकका रुपमा निरन्तर खटिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू