शुक्रबार, चैत १६, २०८०
08:04 | १३:४९

नेपालमा एक लाख ८ हजार ३३४ संक्रमित निको भए

रासस अक्टोबर २४, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन् । प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सङ्क्रमितमध्ये ६८ प्रतिशत अर्थात् एक लाख पाँच हजार ७९० पुरुष र ३२ प्रतिशत अर्थात् ४९ हजार ४४३ महिला छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख आठ हजार ३३४ पुगेको छ जुन कुल सङ्क्रमितको ६९.८ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ५७ छ ।

२० हजार सक्रिय काठमाडौँमा
नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २६३ निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७२२ छ ।

यस्तै ललितपुरमा दुई हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार ७६३ र भक्तपुरमा पाँच हजार १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १४९ र भक्तपुरमा तीन हजार ६४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १९२, भक्तपुरमा ५५ र ललितपुरमा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

काठमाडौँमा १० हजार ५०१, ललितपुरमा दुई हजार ६६४ र भक्तपुरमा एक हजार ७१९ सङ्क्रमित होम आइसोलेशनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । मुस्ताङमा भने सक्रिय सङ्क्रमित छैनन् ।

सङ्क्रमितमध्ये ३०७ को सघन उपचार कक्ष र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चौबीस घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८४२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू