मंगलबार, वैशाख ११, २०८१
14:04 | १८:४९

बेलायतको ‘रोयल नेभी’ मा भर्ती हुने पहिलो नेपाली युवती उषा

टेरिसा मेदेखि महारानीसम्मका भिभिआईपीसंगको अनुभव

नेपाली लिङ्क अक्टोबर २४, २०२०

लण्डन । बेलायती सेनामा भर्ती भएर नेपाली युवाहरुले सेवा गर्न थालेको दुई सय वर्ष बढी भइसकेको छ । तर, नेपालबाटै भर्ती भएर अहिलेसम्म कुनै नेपाली युवती बेलायती सेनामा आएका छैनन् ।

पछिल्ला केही वर्ष बेलायतमै रहेका एकाध नेपाली किशोरी भने बेलायती सेनामा भर्ती भएका भेटिन्छन् । उनीहरुमध्ये बेलायती सेनाको रोयल नेभी (जलसेना) मा भर्ती हुने पहिलो नेपाली युवती हुन् उषा ठकुरी ।

बेलायती सेनामा सेवा गर्दाका उषाका अनुभवबारे बेलायतबाट प्रकाशित ‘आईन्यूज’ले हालै एक रिपोर्ट प्रकाशन गरेको छ । जसमा उनले रोयल नेभीमा भर्ती भएपछि आफ्नो जीवन नै परिवर्तन भएको प्रतिक्रिया दिएकी छन् ।

एशियन नेप्लिज समुदायको पृष्ठभुमिबाट आएकी एक युवतीका रुपमा सैन्य तालिम एक फरक र कठिन अनुभव रहेको उषाले सुनाएकी छन् ।

बेलायती सेनामै कार्यरत उषाका बाबु गोर्खा राइफल्सबाट रोयल नेभीमा सरेका थिए उनी । उषालाई सानैदेखि एअरहोस्टेस बनेर संसारको यात्रा गर्ने रहर थियो । तर आफ्ना बाबुले रोयल नेभीमा काम गर्दाको अनुभव सुनाइसकेपछि भने उनलाई पनि त्यसतिरै आकर्षण बढेको थियो ।

‘रोयल नेभी जोइन गर्नुअघि मानसिक रुपमा तयार हुन आवश्यक हुँदो रहेछ । भर्ती हुनेबित्तिकै ७-८ महिनासम्म त परिवारबाट टाढा रहनुपर्छ । तर त्यो अवधिमा पनि नेभी वेल्फेयरले परिवारको रेखदेख गरेको हुन्छ भन्ने कुराले मनमा शान्ति मिल्दोरहेछ’, उषाले भनेकी छन् ।

रोयल नेभीमा सेवाको क्रममा उनले धेरै देशहरुसम्म पुग्ने मौका पाएकी छन् । थुप्रैपटक भिभिआइपी सहभागी अवसरहरुमा पनि खटिएकी छन् । बेलायतकी तत्कालीन प्रधानमन्त्री टेरिसा मे, प्रख्यात बेलायती उद्यमी रिचर्ड ब्रान्सन मात्र होइन, बेलायती महारानी एलिजावेथसम्म सहभागी इभेन्टहरुमा पनि उनले कामको अवसर प्राप्त गरेकी छन् ।

रोयल नेभी भर्ती भएर धेरै कुरा सिक्ने र अनुभव गर्ने अवसर पाएकी उषा आफ्नो करियरप्रति खुशी छन् । भन्छिन्, ‘म धेरै खुशी छु कि भर्ती भएँ । नभए अहिले पनि टेस्कोमै काम गरिरहेकी हुन्थें होला ।’

तस्विरहरु – आईन्यूज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू