शुक्रबार, चैत १६, २०८०
13:46 | १९:३१

बेलायतको फार्नबरोमा नेपाली महिलामाथि जातीय दुर्व्यवहार र आक्रमण

आक्रमणकारीले धकेलेर लडाउंदा बेहोस्

नेपाली लिङ्क अक्टोबर २२, २०२०

लन्डन ।  बेलायतमा फेरि एकपटक एक नेपाली महिला जातीय दुर्व्यवहार र हिंसाको शिकार बनेकी छन् ।  

नेपालीको बाक्लो बस्ती रहेको फार्नबरोमा अन्दाजी ४० देखि ५० वर्षभित्रको उमेरकी ती महिलालाई जातीय भेदभावबाट प्रेरित गालीगलौज र आक्रमण समेत भएको ह्याम्पशायर प्रहरीले जनाएको छ ।

गत सोमबार अक्टोबर १९ को दिन साँझ साढे ६ देखि बेलुका पौने ८ बजे बीचको समयमा घटना भएको हो । फार्नबरोको कर्ली ब्रिजदेखि कोभ ब्रुक ब्रिजसम्म हिंडिरहेकी नेपाली महिलामाथि गोरो वर्णका ४ युवाले हिंसा गरेका हुन्  ।

प्रहरीका अनुसार फुटपाथमा हिंड्दै गरेकी महिलालाई अन्दाजी १७ देखि १९ वर्ष उमेरका ४ जनाले शुरुमा गालीगलौज गरेका थिए ।  त्यसपछि उनीहरुले ती महिलालाई पछाडिबाट धकेलेर भूइंमा लडाएका थिए । भूइंमा  लडेपछि महिला बेहोस् भएकी थिइन्  भने उनको हात तथा अनुहारमा सामान्य चोटपटक समेत लागेको थियो ।

घटनापछि  आक्रमणकारी युवाहरु इलेक्ट्रिक बाइक र स्कुटर चलाएर भागेका  थिए ।  

प्रहरीले आक्रमणकारी युवाहरुको खोजी भइरहेको भन्दै उनीहरुबारे कुनै सुचना भए उपलब्ध गराइदिन अपील गरेको छ ।  

यो घटना वा आक्रमणकारीसम्बन्धी कुनै सुचना वा जानकारी भए प्रहरीलाई रिफरेन्स नम्बर ४४२००४०६८२२ सहित १०१ मा टेलिफोन गर्न आव्हान गरिएको छ ।  त्यस्तै, आफ्नो परिचय गोप्य राखेर ०८००५५५१११ मा ‘क्राइमस्टपर्स’ लाई खबर गर्न पनि सकिनेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू