शुक्रबार, वैशाख १४, २०८१
18:58 | २३:४३

नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक, थप १८ को मृत्यु

रासस अक्टोबर १३, २०२०

काठमाडौं । देशभरि कोरोना भाइरस (कोभिड—१९) को सङ्क्रमण तीन हजार ५५६ जनालाई देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १५ हजार ५७७ जनाको पिसीआर परीक्षण गर्दा तीन हजार ५५६ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । तीमध्ये एक हजार २३३ महिला र दुई हजार ३२३ जना पुरुष रहेका छन् । विगत २४ घण्टामा थप १८ को मृत्यु भएको छ ।

आज देखिएका सङ्क्रमितमध्ये प्रदेश नं. १ मा ३२३ जना, प्रदेश नं २ मा १२० जना, वागमती प्रदेशमा दुई हजार ३९३ जना, गण्डकी प्रदेशमा ७३ जना, लुम्बिनी प्रदेशमा ४०५ जना, कर्णाली प्रदेशमा १३२ जना र सुदूरपश्चिम प्रदेशमा ११० जना रहेका छन् ।

अहिलेसम्म १२ लाख सात हजार ९१ परीक्षण गरिएकामा एक लाख १५ हजार ३५८ जनामा सङ्क्रमण देखिएको छ । उनका अनुसार विगत २४ घण्टामा एक हजार ५०३ जना सङ्क्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ७८ हजार ७८० जनाको रोग निको भएको छ । नेपालमा निको हुने दर ६८.३ प्रतिशत छ ।

गौतमका अनुसार ३५ हजार ९१५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै संस्थागत आइसोलेसन १५ हजार ४८ जना, होम आइसोलेसनमा २० हजार ८६७ जना र चार हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म सघन उपचार कक्ष (आइसियु) मा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँ उपत्यकामा दुई हजार १२९ जना सङ्क्रमण देखिएको छ । तीमध्ये ७८९ महिला र एक हजार ३४० जना पुरुष रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू