शनिबार, वैशाख ८, २०८१
00:56 | ०५:४१

बेरोजगारका सहारा प्रभु बिजनेश आइडिया पनि बांड्दै

यूकेमा फ्रेन्चाइज विस्तार गर्दै उनी

नेपाली लिङ्क अक्टोबर १२, २०२०

प्रभु न्यौपाने

लन्डन । दक्षता र आत्मविश्वास हुनेलाई बेलायतमा अवसर नै अवसर छ । चाहे अध्ययन होस् वा व्यवसाय, खुबी हुनेहरु यहां शिखर चुम्छन्, नहुने जिविकोपार्जनकै लागि भौंतारिनु पर्छ । त्यसको एउटा उदाहरण हुन्- युवा व्यवसायी प्रभु न्यौपाने ।

करिब डेढ दशकअघि बेलायत प्रवेश गरेका न्यौपानेले यहां कहिल्यै पछाडि फर्कनु परेन । शुरुवातका बेला जागिरे उनी अहिले कयौं व्यवसायको बाग्डोर सम्हालिरहेका छन् ।

केही मानिस अरुमाथि शोषण गरेर आफ्नो फलिफापका लागि व्यवसाय गर्छन् । तर, प्रभु तिनका लागि प्रभु 
(भगवान) नै हुन् जो काम नपाएर भौंतारिरहेका छन् । उनी आफ्नो रिक्रुटिङ एजेन्सीमार्फत काम दिलाइदिन्छन् । व्यवसायमा रुची भएकालाई आफ्नो अनुभव बांड्छन् ।

५ वर्षयता रिक्रुटिङमा संलग्न प्रभुले गत वर्ष ‘भरयाङ रिक्रुटेमेन्ट सोलुसन्स’ कम्पनी खोले । कम्पनी विस्तारका क्रममा करिब दुई महिनाअघि भरयाङ रिक्रुटेमेन्ट सोलुसन्स फ्रेन्चाइजिङ लिमिटेड शुरु गरे निर्देशक भएर । उक्त कम्पनीका अहिले स्लाओ, वेष्ट लन्डन र पिटरबरो गरि तीन शाखा छन् ।

यूकेमा फ्रेन्चाइज विस्तार गर्ने उद्देश्य अनुरुप छिट्टै कार्डिफ, इष्ट लन्डन र अल्डरसटमा समेत खोल्न कुरा भइरहेको उनले जनाए । न्यौपानेले बेलायतका कुनै पनि ठाउंमा आफ्नो कम्पनीको फ्रेन्चाइज लिन इच्छुक भए सम्पर्क गर्न भनेका छन् ।

उनको कम्पनीमार्फत अस्थायीरुपमा अहिले करिब एक सय जतिले काम गरिरहेका छन् । तिनमा नेपाली बढी छन् । रोजगारीमा पहिलो प्राथमिकता नेपालीलाई दिने प्रभुसंग इष्ट युरोपियन र अफ्रिकन कामदार पनि उल्लेख्य छन् ।

स्थायी, अस्थायी र कन्ट्रयाक्टमा जागिर मिलाइदिन्छन् उनी । तर, बेलायतमा काम गर्ने अधिकार भने हुन अनिवार्य छ ।

कोभिड महामारीका कारण हस्पिटालिटी, क्याटरिङ क्षेत्र लगभग मृत (डेड) छ उनकै भनाइमा । तर, केयर सेक्टर ‘मेन्टेन’ भइरहेको न्यौपानेले जनाए ।

१४ वर्ष अघि बेलायत प्रवेशताका केयर सेक्टरमा लागे उनी । नर्सिङ होमको केयर म्यानेजर भएर काम गरिरहंदा उनले आफ्नै व्यवसाय गर्ने सोच बनाए । सोचसंगै उनमा आत्मबल र आंट पनि थियो किनकि नेपालमै उनले बिजनेश लाइन समातिसकेका थिए । चीनबाट विद्युतीय सामान ल्याएर व्यापार गर्थे । महाबौद्ध र चाइना टाउनमा शो रुम थियो ।

‘बेलायतमा दक्षता, सीप, इमान्दारी, अनुशासन र निरन्तर लगाव रहे सफल भइने रहेछ’- उनी भन्छन् ।

नेपाल हेटौंडा निवासी हुन् उनी, बेलायतमा मेडनहेड बक्र्ससायरमा छ बसाइ ।

उनको स्वान्जी वेल्समा औरा केयर होम लि. नामको एउटा नर्सिङ होम पनि छ । उनी उक्त केयर होमको निर्देशक छन् । केही नेपाली व्यवसायीहरुको साझेदारीमा सञ्चालित उक्त नर्सिङ होमले अहिले करिब ४० जनालाई रोजगारी दिइरहेको छ । उक्त व्यवसाय पनि सन्तोषजनक रहेको न्यौपानेले सुनाए ।

नेपलिज ब्रिटिश कम्युनिटी यूके र स्लाउ नेपलिज कम्युनिटीका सदस्य उनी आफूले जानेको बिजनेश आइडिया कसैलाई पनि दिन तयार रहेको बताउंछन् ।

विद्यार्थी भिजामा नआएपनि न्यौपानेले सन् २०१२ मा बक्स न्यू युनिभर्सिटी हाइवेकम्बबाट फाइनान्समा एमबीए गरेका थिए । यो अध्ययनले पनि उनलाई व्यवसायिक सफलतामा थप बल दिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू