शुक्रबार, चैत १६, २०८०
12:42 | १८:२७

एनआरएन युरोप क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत

नेपाली लिङ्क अक्टोबर ४, २०२०
लन्डन । कोभिड १९ महामारीका बेला नेपाललाई गैर आवासीय नेपालीको सहयोग महत्वपूर्ण रहेको औंल्याइएको छ ।
शनिबारदेखि भर्चुअल माध्यमबाट शुरु १३ औं एनआरएन युरोप क्षेत्रीय बैठक, ११ औं महिला फोरम बैठक र दोश्रो ज्ञान सम्मेलन २०२० उद्घाटन सत्रमा नेपालका राजनीतिज्ञहरुले गैर आवासीय नेपालीलाई अझ सक्रिय भएर मातृभूमिको हितमा लाग्न अपिल गरेका हुन् ।
सम्मेलनका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खाडीसहित विभिन्न मुलुकबाट सरकारले अहिलेसम्म करिब एकलाख २० हजार नेपालीको उद्धार गरेको र सो कार्यमा एनआरएनए तथा  कूटनीतिक नियोगहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । मन्त्री भट्टराईले युरोपमा करिब ५ लाख नेपाली रहेको उल्लेख गर्दै उनीहरुको ज्ञान, सीप, प्रविधि र पूँजी नेपालको हितमा हस्तान्तरण गरि नेपाल सरकारसंग सहकार्य गर्न अपिल समेत गरे ।
नेपाल लगानीका लागि ’भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै उनले विश्वकै उर्जाशील जनशक्ति नेपालमा रहेको र त्यसलाई भरपुर उपयोग गरि प्रचुर मात्रामा रहेको 
जलश्रोत, कृषि, मानव संशाधनमा लगानी गर्न एनआरएनलाई आग्रह गरे । कोभिडले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जनाउंदै मन्त्री भट्टराईले नेपालको पर्यटन उकास्न एनआरएनएको अहंम भूमिका रहेको बताए । ’हामीले अष्ट्रलिया, जापान, हङकङ, कोरिया जस्ता देशमा सहज ढंगले उडान गरिसक्यौं । तर, नेपाली उडान युरोप आउन सकेको छैन्’ मन्त्रीले भने ’युरोपको प्रतिवन्ध हटाउन एनआरएनको लविइङ अति महत्वपूर्ण हुनेछ ।’
मानव श्रम लानेमात्र होइन, नेपाली उत्पादन र बजार युरोपमा पनि खोज्न मन्त्री भट्टराईले आग्रह गरे ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका संसद गगन थापाले नेपालमा अप्ठेरो पर्दा सबैभन्दा पहिला एनआरएनलाई सम्झने गरेको बताउंदै अहिलेको महामारीमा सहकार्य झन् मजबुत बनाउन आवश्यक रहेको बताए । कोभिडले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबाट उम्कन एनआरएनको सक्रियताको अपेक्षा गर्दै थापाले नेपालको शक्ति भनेकै संसारभर फैलिएका नेपालीहरु भएकाले उनीहरुलाई नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले प्रवासमा रहेका नेपालीको ज्ञान, सीप र भावना तोड्ने होइन, मातृभूमिसंग जोड्न गैर आवासीय नेपाली नागरिकताको अवधारण अगाडि बढाइएको बताए । कांग्रेसको 
कोभिड १९ अनुगमन समितिका संयोजक समेत रहेका नेता महतले समृद्धिको पहुंचमा आमनागरिकलाई पुरयाउने आफूहरुको चाहना पुरा गर्न एनआरएनको सहयोगी भूमिकाको अपेक्षा गरे ।
सम्मेलन सम्बोधनका क्रममा एनआरएनए अध्यक्ष कुमार पन्तले कोभिड १९ मा करिब २५० जना गैर आवासीय नेपालीले ज्यान गुमाएको जनाउंदै यस महामारीबाट संसार नै प्रभावित भएका बेला संघले 
आफ्नो सबै सामर्थ्य  लगाएर काम गरेको बताए । उच्चस्तरिय समिति र उपसमितिहरु गठन गरि पहिलो चरणमा ४ सय स्वास्थ्यकर्मी परिचालित गरि जनचेतना, दोश्रो चरणमा राहत सामग्री वितरण र तेश्रो चरणमा विदेशमा अलपत्र नेपालीलाई घर फर्काएर नेपालमै रोजगारी सृजना गर्नेतर्फ संघ लागिरहेको पन्तले बताए । उनले मातृभमिलाई ३ करोड रुपैयां बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको पनि बताए ।
विश्वका ८२ देशमा एनआरएनएका शाखाहरु स्थापना भइसकेको बताउंदै अध्यक्ष पन्तले नेपाल बाहिर पनि नेपाल छ र त्यो चलायमान छ भन्ने कुरा नेपाल सरकारले बुझ्न आवश्यक रहेको उल्लेख गरे ।
‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजका लागि हाम्रो अभियान’ मूल नारा रहेको सम्मेलनको पहिलो दिन शनिबार ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन लगायत ८ ओटा विभिन्न सत्र आयोजना गरिए । ‘युरोपको गैर आवासीय नेपाली समुदाय र नेपाली नियोगहरुबीचको सम्बन्ध’ विषयमा आयोजित सत्रमा युरोपस्थित आठ ओटा विभिन्न मुलुकका लागि  नेपाली राजदूत तथा उपनियोग प्रमुखहरु, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का लगायत सहभागी भएका थिए ।
गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सत्रमा पूर्व सभामुख तथा नेकपा नेता सुवास नेम्वाङ, नेपाली कांग्रेसका नेता तथा सांसद डा मिनेन्द्र रिजाल लगायतले सम्बोधन गरेका थिए । त्यस्तै झन्डै ५ घण्टा चलेको एनसीसी सेसनमा युरोपस्थित एनआरएन राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुले आफ्नो मन्तव्य र जिज्ञासा राखेका थिए भने केन्द्रिय अध्यक्ष कुमार पन्त, महासचिव डा. हेमराज शर्मा लगायतका पदाधिकारीहरुले जवाफ दिएका थिए ।
एनआरएनएका युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा युरोपेली संघका लागि नेपाली राजदूत लोकबहादुर थापा, एनआरएनएका प्रमुख संरक्षक शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, संरक्षक रामप्रताप थापा, एनआरएनए केन्द्रिय सल्लाहकारहरु कुल आचार्य, विश्वआदर्श पण्डित,  पुष्पराज तिमिल्सिना, एनआरएन युरोप उपसंयोजक कृष्ण तिमल्सिना लगायतले सम्मेलनको सफलताको कामना गरेका थिए । कार्यक्रम राजु अर्यालले सञ्चालन गरेका थिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू