शुक्रबार, वैशाख ७, २०८१
20:59 | ०१:४४

एनआरएनए यूके बाल चित्रकला प्रतियोगिताका विजेता सार्वजनिक

माध्यमिक तहमा चितवनकी प्रशंसा घिमिरे प्रथम, प्राथमिक तहमा पहिलो प्राची न्यौपाने

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२०

लन्डन । एनआरएनए यूकेले बाल चित्रकला प्रतियोगिताका विजेताको नाम सार्वजनिक गरेको छ । आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा र सहभागी बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ सार्वजनिक गरिएको हो ।

प्रतियोगिता अन्तर्गत माध्यमिक तहमा प्रथम स्थान चितवनकी प्रशंसा घिमिरेले जितिन् भने दोश्रो स्थान सुरक्षा खरेल, तृतीय वसन्त कंडेल र चौंथो स्थान सुरज खरेलले प्राप्त गरे ।

त्यसैगरि, प्राथमिक तहमा पहिलो स्थान प्राची न्यौपानेले प्राप्त गरेकी छन् भने दोश्रो अनुष्का मानन्धर, तेश्रो रक्षा आचार्य र चौंथो स्वीकृति आचार्य भए ।

प्रतियोगितामा ४६ जना बालबालिकाले सहभागिता जनाएका थिए । इभा सापकोटाले निर्णायकहरुका तर्फबाट सान्त्वना पुरस्कार पाएकी छन् ।

प्राप्त चित्रहरुको सही मुल्यांकन गर्न समिति गठन गरिएको थियो । समितिमा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणदत्त कंडेल, सिता खरेल (उपसंयोजक), अर्क तिमिल्सिना, एलबिजेड गुरुङ, बाल साहित्यकार विनोद न्यौपाने, कलाकार रुरु लम्साल, कृष्ण देवकोटा, शकुन्तला गुरुङ गरि ८ जना संलग्न थिए । समितिमा अर्क तिमिल्सिना, रुरु लम्साल र विनोद न्यौपानेले चित्रकलाको मुल्यांकन गरेका थिए ।

कार्यक्रममा एनआरएनए एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डन निवासी टिया आचार्यलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सो प्रतियोगितामा २९ देशका ६१ प्रतियोगी थिए ।

कार्यक्रममा प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेल, उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष शकुन्तला गुरुङ, आइसीसी सदस्य अर्कराज तिमिल्सिना लगायतले ति बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ विमोचन समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक तिमल्सेनाले एनआरएनए यूकेको यस प्रतियोगिता सरहानीय भएको बताए । उनले विजेतालाई बधाइ दिंदै यस्ता रचनात्मक कार्यक्रम निरन्तर गर्न पनि सुझाए ।

एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले कार्यक्रम सन्चालन गर्दै लकडाउनका कारण विद्यालय बन्द भएर घरमै रोकिन वाध्य यूकेका बालबालिकालाई रचनात्मक कार्यमा सहभागी गराउन प्रतियोगिता आयोजना गरिएको जनाए ।

बाल दिवसमा भव्य कार्यक्रम गरि नतिजा सार्वजनिक तथा पुरस्कृत गर्ने योजना भएपनि बेलायत सरकारको लकडाउनका कारण पत्रकारहरुमार्फत संक्षिप्त कार्यक्रम गरिएको भट्टराईले बताए । नयां पुस्तालाई एनआरएनए यूकेतर्फ आकर्षित गर्नु पनि प्रतियोगिताको मुख्य उद्देश्य थियो ।

मन्तव्यका क्रममा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेलले एनआरएनले भोलिको पुस्ताका लागि थोरै काम गरेका बेला चित्रकला अवधारणा परिकल्पना गरिएको जनाए । कंडेलका अनुसार, दुईवटा चित्र माग गरि त्यसमध्ये एउटा नेपालको झण्डा र अर्को कुनै रचनात्मक कार्य झल्कने चित्र बनाउन भनिएको थियो ।

उनले मुल्यांकन प्रक्रियाबारे अवगत गराउंदै सहभागी बालबालिकाको चित्र प्रदर्शन गरेका थिए । प्राप्त चित्रकलाहरु कसले कोरेको हो नाम समावेश नगरि समितिलाई पठाइएकाले मुल्यांकन निष्पक्ष भएको कंडेलले प्रष्टयाए ।

कार्यक्रममा आइसीसी सदस्य अर्कराज तिमिल्सिनाले चित्रकला प्रतियोगिता एनआरएनए यूके इतिहासमा सबैभन्दा रचनात्मक कार्यक्रम भएको बताए भने उपाध्यक्ष प्रेमगाहामगरले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा युरोप उपसंयोजक तिमल्सेना, एनआरएनए यूके सहकोषाध्यक्ष शकुन्तला गुरुङ, सदस्यहरु सरस्वती केसी, धनबहादुर सार्की, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष एलबिजेड गुरुङ लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू