शुक्रबार, वैशाख ७, २०८१
22:26 | ०३:११

बर्मिङहममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते

आक्रमणकारी समूह तथा व्यक्तिको खोजी

रासस-एजेन्सी सेप्टेम्बर ६, २०२०

लन्डन । बेलायतको बर्मिङहम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ ।

इङ्ल्यान्ड राज्यको दोस्रो ठूलो शहर बर्मिङहममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘मेजर इन्सिडेन्ट’ बताएको छ । तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मध्य राति करिब साढे १२ बजे बर्मिङहम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।’

‘उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ भएको जानकारी प्राप्त भएको छ’- विज्ञप्तिमा भनिएको छ । तर, आक्रमणका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पठाइएको तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपतकालीन सेवाहरूलाई घटनास्थलमा उपलब्ध गराइएको प्रहरीले बताएको छ ।

बेलायती टेलिभिजन च्यानलमार्फत् सार्वजनिक घटनास्थल वरपरको दृश्यमा प्रहरीले घेरा हाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ ।

घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी तथा अनुसन्धान अधिकारी घटनास्थलमा तैनाथ रहेका तर अहिले नै घटनाबारे थप सूचना दिइहाल्न असम्भव भएको प्रहरीले बताएको छ ।

अहिले नै घटनाको प्रकृति र कारणबारे अनुमान गर्न ठीक नहुने प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू