बुधबार, वैशाख १२, २०८१
21:10 | ०१:५५

लकडाउन हटेपछि बेलायतमा प्रपर्टीको भाउ बढ्यो

केही महिनापछि फेरि घट्ने अनुमान

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२०

लन्डन । कोरोना महामारीका कारण लागू गरिएको लकडाउन हटाइएपछि बेलायतको प्रपर्टी मार्केटमा चहलपहल बढ्न थालेको छ ।

लकडाउन हटेपछिको अवधिमा प्रपर्टी कारोबार र भाउ दुवै क्रमिक रुपमा बढ्दै गएको बेलायतको फाइनान्सियल संस्था ’नेसनवाइड बिल्डिङ सोसाइटी’ ले जारी गरेको तथ्यांकले देखाएको छ ।

गत अगस्टमा अघिल्लो महिनाको तुलनामा प्रपर्टीको भाउ २ प्रतिशतले बढेको छ । जुन वृद्धि बेलायतमा एक महिनाको अवधिमा भएको १६ वर्षयताकै सबैभन्दा धेरै हो ।

हाल बेलायतमा प्रपर्टीको औसत मूल्य २ लाख २४ हजार १ सय २३ पुगेको छ । गत मे र जुन महिनामा भएको मूल्य गिरावटकै अनुपातमा अगस्ट महिनामा मूल्य बढेको ‘नेसनवाइड’ ले जनाएको छ ।

लकडाउन हटेपछि बढेको मूल्य आउंदो महिनाहरुमा भने घट्न सक्ने अनुमान छ ।

कोरोना महामारीको प्रत्यक्ष असर यहाँको रोजगारीमा परेपछि प्रपर्टी फेरि सस्तो हुने ठानिएको छ ।  

फेरि घट्ला त भाउ ?  

मोर्गेज एड्भाइजर प्रेम गैरे

बेलायतमा प्रपर्टी व्यवसाय संचालन गर्दै आएका मोर्गेज एड्भाइजर प्रेम गैरे बैंक अफ इङ्ल्यान्डको सस्तो ब्याजदर, ५ लाख पाउन्डसम्मको प्रपर्टीमा ‘स्ट्याम ड्यूटी’ मिनाहा लगायतका विशेष सुविधाले पनि प्रपर्टी कारोबारलाई उत्साहित गरेको बताउँछन् । 

सनराइज फाइनान्सियल सोलुसन्स् यूकेका निर्देशक समेत रहेका गैरे भन्छन्, ‘आउंदो अक्टोबरदेखि फर्लो स्किम सकिएपछि भने धेरैले रोजगारी गुमाउने अवस्था आउँछ । त्यसपछि प्रपर्टीको मूल्य र कारोबार नबढ्ने वा थोरै घट्ने हुन सक्छ । तर लन्डन र आसपासको प्रपर्टीमा भने खासै घट्ला भनेर आशा गर्न सकिन्न ।’

अहिले प्रपर्टी खरिद गर्नेहरुमध्ये अधिकांश ‘फर्स्ट टाइम बाएर’ नभएर दोस्रोपटक किन्ने तथा प्रपर्टी किनेर भाडामा लगाउने तथा नयाँ घरमा सर्नेहरु रहेको उनको अनुभव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू