बिहीबार, चैत १५, २०८०
14:17 | २०:०२

कपिलवस्तुमा नर्ससहित ११ जनाले जिते कोरोना

रासस मे २५, २०२०

कपिलवस्तु । कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् ।

कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर सोमबार घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको संख्या बढेको हो ।

गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि ती नर्सलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्स संक्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित १ सय १० जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

नर्सको दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपालमै पहिलो स्वास्थ्यकर्मी संक्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताए । उनलाई थप एक साता होम क्वारेन्टिनमा बस्न सुझाव दिइएको छ ।

शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो ।

कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू