शनिबार, वैशाख ८, २०८१
02:48 | ०७:३३

फेला परे बाँकेका फरार संक्रमित

रासस मे २३, २०२०

भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुरमा मात्रै ८७ संक्रमित पुगेका छन् ।

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक संक्रमितलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि आइसोलेसन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका संक्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए ।

१२ जना संक्रमितलाई गएराति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार संक्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए ।

उनले स्थानीयवासी र अन्य सरोकारवालाहरुको असहयोगले गर्दा नरैनापुरबाट संक्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए । नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर संक्रमित पत्ता लगाउदै व्यवस्थापन गर्न खोज्दा बिरामीलाई क्वारेन्टिनबाट आइसोलेसन केन्द्र र अस्पतालसम्म ल्याउन सबैको साथ नपाउनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

सदरमुकाम नेपालगञ्जबाट करिब ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरमा मात्रै ८७ संक्रमित पुगेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू