बुधबार, वैशाख १२, २०८१
10:59 | १५:४४

नेपालमा कोरोनाबाट निको हुने ४९, संक्रमित पुगे ४ सय ५३

रासस मे २१, २०२०

काठमाडौँ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस संक्रमित बिहीबार निको भई घर फर्किएका छन् ।

निको हुनेमा दुई महिला तथा दुई पुरुष छन् । नवौँ दिनको बसाइपछि उहाँहरुलाई बिहीबार अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष छन् । यससँगै देशमा कोराना संक्रमणबाट निको हुनेको संख्या ४९ पुगेको छ ।

त्यसैगरी, बिहीबार झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहनुभएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको कोरोना रिपोर्ट ‘पोजेटिभ’ आएको हो । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । यससँगै कूल संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू