शुक्रबार, वैशाख १४, २०८१
23:23 | ०४:०८

आर्थिक संकटमा थाई एयरवेज, निजीकरणको तयारी

रासस-एपी मे १९, २०२०

बैंकक । थाइल्याण्डको राष्ट्रिय ध्वजावहाक ‘थाई एयरवेज इन्टरनेसनल’ ले आफ्नो व्यवसायिक योजनामा फेरबदल गर्ने गरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ । 

सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने जानकारी दिए । यद्यपी उनले प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत रुपमा बताउन चाहेनन् । 

थाई एयरवेजले कोरोनाभाइरसका कारण यात्रा र पर्यटन क्षेत्रमा ठूलो संकट उत्पन्न हुनुअघि नै आर्थिक समस्या झेल्दै आएको थियो । थाई एयरले सरकारबाट १ अर्ब ७० करोड अमेरिकी डलर ऋणका लागि प्रस्ताव गरेको छ । 

प्रस्तावित योजना कार्यान्वयनमा आए थाई एयरवेजमा सरकारको लगानी ५० प्रतिशतभन्दा कम हुनेछ र यसले निजीकरणतर्फ अग्रसर गर्नेछ । 

उद्धारका विकल्पहरुमध्ये खासगरी कर्मचारी, विमान संख्या र उडानहरु कटौती हुनेछन् । 

थाई एयरवेजले सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो ।

संचारमाध्यमहरुले थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार रहेको बताएका छन् । 

थाई एयरवेजले कोरोनाभाइरस महामारीका कारण अप्रिलको शुरुदेखि नै सबै उडान बन्द गरेको छ । विमान सेवामा कार्यरत अधिकांश कर्मचारीलाई तलब घटाएर बिदामा बस्न बाध्य पारिएको छ ।

सरकारले गत साता अन्तरराष्ट्रिय उडानबाट थाइल्याण्ड आउन आगामी जुन अन्त्यसम्म रोक्ने घोषणा गरिसकेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू