शुक्रबार, वैशाख ७, २०८१
18:03 | २२:४८

अंकमा आधारित अध्यागमनसम्बन्धी ऐतिहासिक विधेयक बेलायती संसदबाट पारित

'फ्रि मुभमेन्ट' प्रतिस्थापन हुने

रवि अर्याल मे १९, २०२०

लण्डन । बेलायतको अध्यागमन इतिहासकै सबैभन्दा महत्वपूर्ण मानिएको एक विधेयक सोमबार यहाँको संसदबाट पारित भएको छ ।

देशको अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्ने यो कानूनले बेलायतलाई अष्ट्रेलियन शैलीको ‘पोइन्ट बेस्ड’ (अंकमा आधारित) अध्यागमन प्रणालीमा लैजानेछ ।

पारित विधेयकले युरोपेली मुलुकका नागरिकहरुको बिना रोकतोक बेलायतमा आवतजावत गर्ने अधिकारलाई पनि प्रतिस्थापन गरिदिनेछ ।

बेलायती संसदमा सोमबार भएको महत्वपूर्ण मतदानबाट पारित भइसकेपछि अब यो विधेयक संसदका अरु केहि औपचारिक प्रक्रियाबाट अघि बढ्नुपर्नेछ ।

बेलायती संसदमा सोमबार भएको मतदानमा विधयेकको पक्षमा ३ सय ५१ र विपक्षमा २ सय ५२ मत परेको थियो । संसदको महत्वपूर्ण मतदानबाट पहिलो चरण पार गरिसकेको यो विधेयकले अब संसदका अरु केहि औपचारिक प्रक्रियाबाट अघि बढ्नुपर्नेछ ।

ब्रेक्जिटपछिको ‘ट्रान्जिसन’ अवधि समाप्तिसंगै यो वर्षको अन्त्यपछि नयाँ कानून कार्यान्वयनमा आउनेछ ।

युरोपेली संघबाट बहिर्गमनको मुद्धालाई चुनावको प्रमुख एजेण्डा बनाएर बहुमतको सरकार बनाएको ‘कन्जरभेटिभ पार्टी’ ले बहुचर्चित अध्यागमन विधेयक अन्ततः पारित गराएको छ ।

कोरोना महामारीबीच पास गरिएको यो विधेयक विषयलाई लिएर सिंगो सरकार र होम सेक्रेटरी प्रीति पटेलको भने आलोचना भएको छ ।

प्रमुख विपक्षी लेबर पार्टी, आप्रवासीहरुको हितमा काम गर्ने च्यारिटीहरु लगायतले महामारीको बेला ल्याइएको यो कानून गलत मात्र नभइ ‘निर्दयी’ समेत रहेको आरोप लगाएका छन् ।

कोभिडका कारण आर्थिक गतिविधि ठप्प भएको नयां ब्रिटेनमा खासगरी निम्न ज्याला र न्यून सीपका कामदारप्रति सहानुभूति उल्लेखनीय रुपमा बढेको ठानिएको छ । उनीहरु समाजका अभिन्न अंग भएको भन्दै उनीहरुको अवमूल्यन हुन नहुने आवाज उठेको छ ।

तर नयां अंकमा आधारित इमिग्रेसन प्रणालीले न्यून सीप र क्षमता भएका मानिसलाई बेलायत आउन निकै अफ्ठेरो पार्नेछ भने ‘ब्राइट एन्ड बेस्ट’ लाई स्वागत गर्नेछ ।

डाक्टर, इन्जिनियरनर जस्ता उच्च कौशल भएका व्यक्तिहरु बेलायत आउन योग्य मानिनेछन् । यो नियम युरोपसहित संसारभरबाट बेलायत आउन खोज्नेहरुको लागि समान ढंगले लागू हुनेछ ।

ब्रेक्जिटपछिको बेलायत सबैका लागि समान, भेदभावरहित र व्यक्तिको क्षमतामा केन्द्रित रहने होम अफिसले बताउँदै आएको छ । नयाँ निययमबाट स्वास्थ्यकर्मीको रुपमा बेलायत आउन चाहने योग्य नर्स र डाक्टरहरुलाई थप सहज र छिटो बाटो बनाइने तयारी छ ।

नयाँ कानूनसंगै बेलायती अध्यागमनको नयाँ युग शुरु हुने ठानिएको छ । युरोपेली नागरिकहरुले यसअघि पाउँदै आएको ‘फ्रि मुभमेन्ट’ को हक गुमाएपछि गैरयुरोपेली मुलुकका आप्रवासीका लागि थप अवसरहरु सिर्जना हुने आशा छ ।

नयाँ नीतिले नेपालबाट समेत दक्ष कामदारहरु बेलायत आउने बाटो थप सहज हुने आशा गरिएको छ ।

बेलायतस्थित ‘भिजा क्वेस्ट इमिग्रेसन सर्भिस’ का निर्देशक एवम् इमिग्रेसन एड्भाइजर विष्णु खरेलले विशेष सीप र योग्यता हुने नेपाली नयाँ कानूनबाट लाभान्वित बन्ने बताउँछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू