शुक्रबार, वैशाख १४, २०८१
03:24 | ०८:०९

भिसा सकिएकै कारण कानूनी जटिलता हुँदैन: परराष्ट्रमन्त्री

रासस मे १२, २०२०

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा विदेशी मुलुक गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कसैले पनि कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् ।

‘संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समिति’ को सोमबारको बैठकमा उनले विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली संघ, स्थानीय च्यारिटी संस्था र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।’

कोभिड–१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत छ भने । कोरोना महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको संख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने संख्या  दुई लाख १० हजार ८७१ रहेको मन्त्रालयले जानकारी दियो । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी ‘क्वारेन्टाइन’ मा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।

 स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन ‘क्वारेन्टाइन’ मा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार ‘क्वारेन्टाइन’ मध्ये २५ हजार भरिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू