बिहीबार, चैत १५, २०८०
14:11 | १९:५६

सार्वजनिक यातायातमा फेस मास्क प्रयोग गर्न बेलायत सरकारको सल्लाह

नेपाली लिङ्क मे ११, २०२०

लण्डन । बेलायत सरकारले सार्वजनिक यातायातमा चढ्दा ‘फेस मास्क’ को प्रयोग गर्न सर्वसाधारणलाई सल्लाह दिएको छ ।

आउँदो बुधबारदेखि इंग्ल्याण्डका सर्वसाधारणलाई सामाजिक दूरी राख्न सम्भव नहुने सार्वजनिक यातायातका साधन र पसलहरु जस्ता स्थानमा ‘मास्क’ को प्रयोग गर्न सरकारले सल्लाह दिएको हो ।

‘लकडाउन’ का नयाँ नियमसम्बन्धी सरकारले सोमबार जारी गरेको ५० पृष्ठ लामो दस्तावेजमा ‘फेस मास्क’ को सल्लाह उल्लेख छ ।

यसअघि प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ एक सम्बोधनमार्फत ‘लकडाउन’ खुकुलो पार्दै जाने सरकारका चरणबद्ध योजना घोषणा गरेका थिए ।

इंग्ल्याण्डका लागि मात्रै लागू उक्त योजनाअन्तर्गत पहिलो चरणमा यहि बुधबारदेखि घरबाटै काम गर्न असमर्थ मानिसहरुलाई आवश्यक सतर्कतासहित काममा जान आव्हान गरिएको छ । सरकारले काममा जाने क्रममा यथासक्य साइकल प्रयोग वा पैदलयात्रा गर्न आव्हान गरेको छ ।

यसअघि, अन्य देशहरुमा फेस मास्कको प्रयोग गर्न आव्हान गरिएको भएपनि बेलायतमा सरकारले आव्हान गरेको यो नै पहिलोपटक हो । सबैलाई ‘मास्क’ को प्रयोग गर्न आव्हान गर्दा स्वास्थ्यकर्मीको लागि अभाव हुन सक्ने भनेर पनि सरकारले यसअघि यस्तो आव्हान नगरेको हुन सक्ने ठानिएको छ ।

त्यस्तै, सरकारले ल्याएको ‘लकडाउन’ सम्बन्धी नयाँ नियमले पार्कमा बस्न, समयको सीमा बिना घरबाहिर व्यायाम गर्न र सतर्कता अपनाएर घरबाहिर अर्को घरको एक मानिसलाई भेट्न समेत छुट दिएको छ ।

प्रधानमन्त्रीले आइतबार घोषणा गरेको लकडाउन खुकुलो पार्ने योजनामा दोस्रो चरणमा जुन महिनादखि प्राइमरी स्कुल तथा केहि पसल र जुलाईदेखि ‘हस्पिटालिटी’ क्षेत्रका केहि व्यवसाय सुचारु गर्ने योजना छ ।

तर कुनै पनि बेला जोखिम महसुस भए ‘लकडाउन’ सम्बन्धी यी लचकता खारेज गरिने प्रधानमन्त्री जोन्सनले स्पष्ट पारेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू