शुक्रबार, चैत १६, २०८०
21:24 | ०३:०९

उनी आउँदै छिन्…

प्रदीप करन्जित मे ९, २०२०

 


सुगन्ध तिम्रो लिएर बतासले भन्यो, उनी आउँदै छिन् 

कोमल तिम्रो स्पर्शको आभाष दिदै वर्षातले भन्यो उनी आउँदै छिन् 

औंसीको रातको अन्धकारमा आँफै हराउंदा म 

तिम्रो उज्यालो अनुहारको प्रतिक बन्दै, बिहानीको किरणले भन्यो उनी आउँदै छिन् 

डाँडाको चौतारीमा बसेर टाढा क्षितिज पारी तिम्रो बाटो हेरी बस्दा 

तिम्रो चंचल नागबेली हिडाईलाई सम्झाउदै, खोला नदीले भन्यो उनी आउँदै छिन् 

मायाको आशा लिएर बादललाई चिर्दै घामले भन्यो उनी आउँदै छिन् 

इन्द्रेणी देख्दा आकाशमा लाग्छ उसले तिमीलाई छोए जस्तो 

सुन्दरताको तिम्रो बर्णन गर्दै इन्द्रेणीले भन्यो, प्रतिक्षा गर उनी आउँदै छिन् 

सागरको छाल लाई बसेर हेर्दा लाग्छ, तिमी अधैर्य छौ मलाई भेट्न 

सागरको छालले मलाई छोएर भन्यो धैर्य गर उनी आउँदै छिन् 

बसन्त ऋतुका पालुवाहरू चुम्दा, मायाका आशाहरु पलाएर आयो 

फूल अनि हरियाली बसन्तले भन्यो, आशा गर मायाका हरियाली बसन्तहरु लिएर उनी आउँदै छिन् 

ति हरियाली बसन्तहरु उस्तै छन्, चंचल खोला र नदीहरु पनि

हिमालका चुचुराहरु तिनै हुन्, सागरको त्यो गहिराई अनि 

अँध्यारो रातहरु उस्तै छन् तर बिहानीको किरणले भन्यो 

धेरै मायाको बाचा सहित् परिवर्तन यो जीवनमा लिएर उनी आउँदै छिन् 

एक्लै मौन बसे एकान्तहरुमा यहाँ

दर्दको पीडामा कविता लेखे, आफ्नो व्यथाहरु कथामा लेखे तर अझ कसैलाई भन्नै सकिन बोल्नै जानिन

रुखको हाँगामा बसेर कुहु कुहु गाउँदै कोइलीले भन्यो, तोड ति मौनताहरु तिम्रो लागि आवाज बनेर उनी आउँदै छिन्

न कम छ माया आमाको काखमा, न त बाबाको अंगालोमै 

र पनि खोज्दै अद्वितीय माया थाकेर एक्लै बस्दा 

निराश यो अनुहार हेर्दै हातमा सलबलाउदै भाग्यका रेखाहरुले भन्यो

अब धेरै छैन, धेरै छैन अब ! माया, साथ अनि हौसलाहरु सबै लिएर उनी आउँदै छिन् 

सुगन्ध तिम्रो लिएर हावाले भन्यो अब धेरै छैन उनी आउँदै छिन् 

मायाका वहारहरू लिएर उनी आउँदै छिन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू