मंगलबार, वैशाख ११, २०८१
10:51 | १५:३६

गाँजा बरामद गर्दा चितवनमा प्रहरी र स्थानीयवासीबीच झडप

रासस मे ९, २०२०

चितवन    पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गएराति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ ।

राप्ती नगरपालिका-१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद  गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५  नं को गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।

प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।

झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ ।

यादवको अवस्था सामान्य भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति साढे ९ बजे भएको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू