शुक्रबार, वैशाख ७, २०८१
03:39 | ०८:२४

बेलायतमा स्वास्थ्यकर्मीलाई ल्याइएका ८० हजार ‘फेसमास्क’ लुटिए

नेपाली लिङ्क मे ८, २०२०

लन्डन । कोरोनाभाइरसको महामारीसंगै स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने अत्यावश्यक सुरक्षा सामग्रीको यतिबेला विश्वभर नै हाहाकार छ ।

यूरोपमै महामारीको केन्द्रबिन्दू बनेको बेलायतमा पनि यी सामग्रीको खांचो टड्कारो छ । सरकारले पर्याप्त ‘फेसमास्क’ को व्यवस्था गर्न नसकेको समेत आरोप लाग्ने गरेको छ ।

यस्तो संकटको बेला स्वास्थ्यकर्मीका लागि तयार गरेर राखिएको ८० हजार थान ‘एन ९५ फेसमास्क’ म्यानचेस्टरबाट चोरी भएको छ । अस्पतालमा आपूर्ति हुने अत्यावश्यकीय सामग्रीहरु राखिएको गोदाम तोडेर लुटेराहरुले चरम निर्दयी उदाहरण पेश गरेका छन् ।

म्यान्चेस्टरस्थित सालफोर्डमा रहेको स्टोर बुधवार राती साढे नौं बजेतिर लुटिएको थियो । कालो पहिरनमा आएका तीन लुटेरामध्ये दुई पुरुष र एक महिला रहेको ठानिएको छ ।

भोलिपल्ट नै डाक्टर र नर्सहरुको लागि उपलब्ध गराउन तयार पारिएको उक्त मास्कको बक्सलाई तोडेर उनीहरुले आफ्ना तीन वटा कारमा हालेर फरार भएका थिए ।

‘ग्रेट म्यानचेस्टर पुलिस’ अपराधीको खोजीमा जुटिरहेको छ । सिसिटीभी क्यामेराको ‘फुटेज’ प्रष्ट नभएकोले उनीहरुलाई भेट्टाउन प्रहरीलाई गाह्रो परिरहेको छ ।

महामारीको कठिन घडीमा घटेको यो घट्नाले स्वास्थ्यकर्मी मात्र हैन, हरेक बेलायतवासीलाई दुःखी तुल्याएको छ । सबैजना यो समाचारबाट निराश भएका छन् ।

आफ्नो ज्यानको बाजी राखेर कोभिड बिरामीको सेवामा तल्लीन डाक्टर र नर्सको लागि राखिएको मास्क चोर्ने कार्यलाई लुट मात्र नभएर मानवताविरुद्धकै घिनलाग्दो अपराध मानिएको छ ।

बेलायतकै इतिहासमा भएको यो सबैभन्दा ठूलो ‘फेसमास्क’ चोरीको घट्ना हो । जसबाट करिब १ लाख ६६ हजार पाउन्ड बराबरको आर्थिक नोक्सानी भएको छ । साथै, विपतको बेला यसले पुरयाउने क्षति र पीडालाई भने त्यसभन्दा निकै ठूलो रुपमा लिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू