शुक्रबार, चैत १६, २०८०
05:25 | ११:१०

बुद्धका उपदेशले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: राष्ट्रपति

रासस मे ७, २०२०

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उनले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गरेकी छन् ।

बौद्धदर्शनका प्रवर्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताएका छन् । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको जनाएका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिंगो मानव समुदाय एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको भन्दै उनले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको कठिन परिस्थितिमा गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक बनेको उल्लेख गरेका छन् ।

यसैगरी, किराँत समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा) को ठूलो पर्व उभौली तथा चण्डी पूर्णिमाको अवसरमा समेत राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू