शनिबार, वैशाख ८, २०८१
23:44 | ०४:२९

बेलायतमा निको हुनेको रगतबाट संक्रमितको उपचार गर्ने परीक्षण शुरु

नेपाली लिङ्क मे २, २०२०

लण्डन । कोरोना संक्रमणबाट निको भइसकेका मानिसहरुको रगतबाट संक्रमितहरुको उपचार गर्न सकिने आशामा बेलायतमा परीक्षण शुरु गरिएको छ ।

संक्रमणबाट निको हुने मानिसमा उत्पादन भएको ‘एन्टीबडी’ ले संक्रमितहरुमा रहेको भाइरसलाई हटाउन सहयोग पुग्ने आशा गरिएको छ ।

बेलायतको ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) ‘ब्लड एण्ड ट्रान्सप्लान्ट’ विभागले गत सातादेखि नै संक्रमणबाट निको भएकाहरुको रगत संकलनको काम शुरु गरिसकेको छ । जसमा हालसम्म १ सय ४८ जनाले रगत दान गरिसकेका छन् । त्यस्तै, यो परीक्षणमा सहभागी हुन एक साताभित्रै ६ हजार ५ सय मानिसले ईच्छा जाहेर गरेको उक्त विभागले जनाएको छ ।

यो अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरु ‘एनएचएस’ को सहयोगमा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएर निको भएका मानिसहरुसम्म पुग्ने योजनामा छन् ।

यसरी संक्रमणबाट निको भएकाहरुले रगत दान गर्न ४५ मिनेट लाग्ने बताइएको छ । प्राविधिक भाषामा ‘प्लाज्माफेरेसिस’ भनिने यो प्रक्रियामा मेशिनको सहायताले रगतबाट प्लाज्मा (रगतको तरल पदार्थ) छान्ने गरिन्छ ।

कोरोनाबाट संक्रमण भइसकेको मानिसको शरीरमा ‘एन्टीबडी’ उत्पादन भएको हुन्छ । यहि ‘एन्टबिडी’ कै सहायतले मानिसले आफूभित्रको भाइरसलाई आक्रमण गरेर यसबाट मुक्ति पाएको हुन्छ । ‘एन्टबडी’ उत्पादनको क्रम महिनासम्म चल्न सक्छ । व्यक्तिको रगतमा हुने ‘प्लाज्मा’ मा ‘एन्टबडी’ पाइन्छ ।

सोहि ‘एन्टीबडी’ युक्त ‘प्लाज्मा’ संक्रमित व्यक्तिको रगतमा सार्दा उसलाई पनि भाइरसबाट मुक्ति पाउन सहयोग मिल्छ भन्ने आशा छ ।

यो परीक्षणमा सकारात्मक नतिजा देखिए निको हुनेहरुको रगत संकलनको कार्यलाई तीव्र पारिने बताइएको छ । मे अन्त्यसम्म हरेक साता १० हजार युनिट रगत संकलन गर्ने योजना बनाइएको छ ।

संसारका अन्य कतिपय मुलुकमा पनि यो विधिको परीक्षण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू