बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा घोषणा


सोमबार बिहान डाउनिङ स्ट्रिटबाट राजनीमा घोषणा गर्दै स्टार्मर। तस्विर-रोयटर्स
लन्डन- बेलायती प्रधानमन्त्री किअर स्टार्मरले राजीनामा घोषणा गरेका छन् ।
सोमबार बिहान डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै स्टार्मरले देश र पार्टीको हितलाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा लेबर पार्टीको नेताबाट राजीनामा गर्ने निर्णय गरेको बताएका हुन् ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल अपेक्षाअनुसार स्थिर रहन सकेन । पछिल्लो समय आप्रवासन, ऊर्जा संकट, आर्थिक दबाब र पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण उनीमाथि निरन्तर दबाब बढिरहेको थियो ।
विशेषगरी इंग्लिश च्यानल हुँदै साना डुंगामार्फत बेलायत प्रवेश गर्ने आप्रवासीहरूको संख्या बढेपछि सरकारको आप्रवासन नीति चर्को आलोचनामा परेको थियो । यता रूस–युक्रेन युद्धपछि ऊर्जा मूल्य बढ्दा जनताको जीवनयापन खर्च पनि महँगिएको थियो ।
स्टार्मरको राजीनामासँगै अब लेबर पार्टीभित्र नयाँ नेतृत्वको बहस सुरू भएको छ । केही सञ्चार माध्यमहरूले एन्डी बर्नहाम, एन्जेला रेयनर र डेभिड लामीलाई सम्भावित उत्तराधिकारीका रूपमा चर्चा गर्न थालेका छन् ।
बर्नहाम १८ जुनमा मेकरफिल्डमा भएको उपनिर्वाचन जितेर संसदमा प्रवेश गरेका छन् । उनी लेबर पार्टीभित्र लोकप्रिय र प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।
त्यसैले अहिले बेलायती राजनीतिक वृत्तमा बर्नहामलाई स्टार्मरको विकल्पका रूपमा चर्चा गर्न थालिएको छ ।
राजीनामा सम्बोधनमा स्टार्मरले प्रधानमन्त्रीका रूपमा काम गर्ने अवसर पाएकोमा गर्व लागेको बताएका छन् । उनले देशलाई स्थिरता दिन प्रयास गरेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
अब लेबर पार्टीले नयाँ नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । स्टार्मरको बहिर्गमनले बेलायती राजनीतिमा नयाँ शक्ति सन्तुलन र आगामी चुनावी रणनीतिमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार स्टार्मरको राजीनामाले केवल नेतृत्व परिवर्तन मात्र नभई बेलायतको राजनीतिक दिशामै नयाँ बहस सुरू गराएको छ ।
अब नयाँ नेतृत्वले आर्थिक संकट, आप्रवासन र जनविश्वासको चुनौती कसरी सामना गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


