बिहीबार, वैशाख १३, २०८१
23:43 | ०४:२८

नेपालमा कोरोना संक्रमित ४८ पुगे

रासस अप्रिल २३, २०२०

काठमाडौँ । नेपालमा ‘कोभिड -१९’ संक्रमितको संख्या ४८ पुगेको छ ।

कोरोना भाइरसको पुनः परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनका अनुसार ती संक्रमितलाई ‘आइसोलेसन’मा राखिएको छ ।

ती युवक गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि विहीबार नै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

उता, भोजपुरमा एक युवकको पिसिआर रिपोर्ट ‘पोजेटिभ’ आएको छ । गत मंगलबार द्रुत परिक्षण विधि (आरडिटी) बाट रिपोर्ट ‘पोजेटिभ’ देखिएपछि उनको स्वाब ‘पिसिआर’ जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

ती युवकको विहीबार ‘पिसिआर’ रिपोर्ट ‘पोजेटिभ’ आएको अस्पताल स्रोतले जनाएको छ । २६ वर्षीय ती युवक गत चैत ११ गते हतुवागढी आइपुगेका थिए ।

‘होम क्वारेन्टाइन’मा रहेका उनलाई ‘आरडिटी’ रिपोर्ट ‘पोजेटिभ’ देखिएपछि मंगलबार नै प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको ‘आइसोलेसन’मा राखिएको छ । युवकका परिवारका दुईसहित अन्य तीन जनाको ‘आरडिटी’ रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू