बुधबार, वैशाख १२, २०८१
21:14 | ०१:५९

बेलायतमा पीपीइ अभावले स्वास्थ्यकर्मी जोखिममा

नेपाली लिङ्क अप्रिल १९, २०२०

लन्डन । बेलायत सरकारले ‘कोभिड १९’ महामारीविरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) निर्देशिका परिवर्तन गरेको छ । पब्लिक हेल्थ इंग्ल्याण्डको शुक्रबार परिवर्तित नयां निर्देशिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीलाई थप जोखिममा पार्ने चिन्ता व्यक्त भएका छन् ।

इंग्ल्याण्डमा पर्याप्त पीपीइ स्टक नहुंदा हेल्थ केयर कामदारलाई गाउन पुनः प्रयोग गर्न वा अलग खालको किट (प्लास्टिक गाउन) प्रयोग गर्न सुझाइएको छ ।

चिकित्सक तथा नर्सहरुको हितमा काम गर्ने युनियनले सरकारको नयां निर्देशिकाप्रति चासो व्यक्त गरेका छन् । यो सप्ताहन्तभित्र केही अस्पतालका इन्टेन्सिभ केयर युनिटमा पीपीइ सकिने समाचार आएका थिए ।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरुको संस्था ‘नेप्लिज डक्टर्स एशोसिएसन यूके’ का अध्यक्ष डा रमेश खोजु कतिपय पीपीइ जस्तै ग्लोब्स, सर्जिकल गाउन, मास्क जस्ता सामग्री पुन: प्रयोग गर्न नमिल्ने तर केही सकिने बताउँछन् । ‘धेरै सर्टेज हुने अवस्थामा सरकारले विकल्प सोचेको हुन सक्छ’, उनले भने ।

ब्रिटिश मेडिकल एसोसिएसनका डा. रब हारउडले सरकारको नयाँ निर्णयले स्वास्थकर्मीहरुमा जोखिम बढेको बताए । उनले एक महिनासम्म पनि सरकारले पीपीइ उपलब्ध गराउन नसक्नु  दु:खको कुरा भएको जनाए ।

त्यस्तै बेलायतको सबैभन्दा ठुलो ट्रेड यूनियन यूनिसनले उच्च जोखिम क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुले पीपीइ अभावमा काम छाड्न सक्ने चेतावनी दिएको छ ।

डा. सुमित्रा काफ्ले (दायां) नर्सका साथ अस्पतालमा

लेटन हस्पिटल चेसायरमा आइसीयूमा कार्यरत डा. सुमित्रा काफ्ले आफूहरुलाई विरामी निको पार्ने दायित्व हुंदा सरकारले फ्रण्टलाइनमा काम गर्ने आफू जस्ता स्वास्थ्यकर्मीको सुरक्षा गर्नुपर्ने बताउंछिन् । ‘सरकारले सेनालाई बिना हतियार युद्धमा पठाउंछ र ?’ उनको प्रतिप्रश्न छ, ‘हामीलाई चाहिं बेग्लै व्यवहार ? ‘ हालसम्म ५६ जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको बताउंदै पर्याप्त पीपीइ नभए यो संख्या अरु बढ्ने चेतावनी काफ्लेको छ ।

सरकारले अस्पताललाई आवश्यक पीपीइ स्टक उपलब्ध गराउन काम भइरहेको बताएको छ । सरकारले आवश्यक पीपीइ उपलब्ध गराउन सेना नै परिचालन गरेको जनाएको छ । अहिलेसम्म महामारी शुरु भएयता बेलायतभर ७६१ मिलियन पीपीइ आपूर्ति भइसकेको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ । यसमा १५८ मिलियन मास्क, १३५ मिलियन एप्रोन र ३६० मिलियन पञ्जा पनि समावेश छन् ।

सरकारले ४ लाख सर्जिकल गाउनसहित ८४ टन पीपीइ टर्कीबाट सप्ताहन्त आउने बताएपनि यो अझै बाटोमै छ ।

महारानीको जन्मदिन भव्य नहुने

ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले आफ्नो जन्मदिन धुमधामसंग नमनाउने भएकी छन् । कोभिड १९ महामारीले बेलायतमा १५ हजार बढिको निधन भइरहंदा महारानीले आफ्नो जन्मदिन भव्य नमनाउने भएकी हुन् ।

६८ वर्ष लामो शासनकालमा महारानीले पहिलोपटक आफ्नो जन्मदिनमा तोप सलामी (गन स्यालुट्स) नगर्न र अप्ठेरो हुने भए सरकारी भवनमा झण्डा नफहराउन पनि अनुरोध गरेकी छन् । विन्डजोर क्यासलमा बसिरहेकी रानीले जन्मदिनमा कुनै भव्य समारोह नगर्ने योजना बनाएको बेलायती अखवारले जनाएका छन् । बेलायती शाही परिवारको जन्मदिन र अरु विशेष अवसरमा गन स्यालुट्स दिने परम्परा छ ।

९३ वर्षीया महारानीको यही मंगलबार जन्मदिन परेको छ । बेलायती राजदरबारले रानीको परिवारमाझ हुने फोन, भिडियो कल समेत सार्वजनिक नगरिने जनाएको छ ।

ब्रिटिश महारानीसंग कुनै राजनीतिक शक्ति नभए पनि यहांको राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रुपमा पनि हेरिन्छ र यो विश्वमै लोकप्रिय छ ।

महारानीले गत साता विशेष सम्बोधन गर्दै कोरोना भाइरस महामारी विरुद्धको लडाईमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी थिइन् ।

ब्रिटेन तथा राष्ट्र मण्डलको नाममा एक विशेष संदेश दिंदै महारानी एलिजाबेथले एकतावद्ध र दृढनिश्चयी भए ब्रिटेनले यो संकट माथि अवश्य पनि जित हासिल गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

बेलायतमा १७ नेपालीको मृत्यु

कोरोना भाइरसका कारण आइतबारसम्म १७ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक छन् ।

अहिलेसम्म बेलायतभर करिब १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका जानकारी दूतावाससंग छ ।

अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेका ७ तथा संक्रमणको आशंकामा घरमै आइसोलेसनमा बसेका झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले बताए ।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू