शनिबार, ११ जुलाइ, २०२६
09:55 | १४:४०

ग्लोवल पर्वत समाजले गृहजिल्लामा खोल्यो कार्यालय

नेपाली लिङ्क जुलाइ ११, २०२६

कार्यालय उद्घाटनपछि अध्यक्ष दधि आचार्य

लन्डन– विश्वभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था ग्लोवल पर्वत समाजले पर्वत सदरमुकाम कुश्माबजारमा आफ्नो कार्यालय स्थापना गरेको छ ।

कुश्मा नगरपालिका ४ स्थित पुरानो चौकी नजिकै कार्यालय स्थापना गरिएको हो ।

ग्लोवल पर्वत समाजका अध्यक्ष दधि आचार्यले एक समारोहबीच उक्त कार्यालय उद्घाटन गरेका हुन् । पञ्चकन्यासहित विधिवत रुपमा कार्यालय उद्घाटन समारोहमा स्थानीय र समाजका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।

संस्था स्थापना भएको झण्डै एक दशकमा गृह जिल्लामा कार्यालय स्थापना गर्दै संस्थाले आफूलाई अझ सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यालय उद्घाटन गर्दै अध्यक्ष आचार्यले अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वत जिल्लाको विकास र परिवर्तनका लागि लामो समयदेखि योगदान गर्दै आएको बताए ।

समाजका हरेक गतिविधि सञ्चालन गर्न, आवश्यक दस्ताबेजहरु राख्न तथा नेपाल र विदेशमा भइरहेका गतिविधिहरु आदानप्रदान गर्न कार्यालयमार्फत सहज हुने विश्वास अध्यक्ष आचार्यको छ ।

उनले उक्त कार्यालयलाई व्यवस्थित रुपमा सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्ने र संस्थाले हालसम्म गरेका कामहरु तथा भावी योजनाहरुलाई व्यवस्थित र दस्तावेजीकरण गर्दै जाने समेत बताए ।

कार्यालय शुभारम्भका क्रममा समाजका उपाध्यक्ष रुद्रशर्मा लम्साल, बाबुराम शर्मा, कोषाध्यक्ष तिलक सापकोटा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, संस्थाका लेखा संयोजक शेषराज रेग्मी, पूर्व जनप्रतिनिधि देवेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रम सञ्चालन कलाकार आरसी पौडेलले गरेका थिए ।

ग्लोवल पर्वत समाजले पर्वतमा शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा विपन्न र दलित समुदायमा विभिन्न राहतमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू