शनिबार, वैशाख ८, २०८१
14:48 | १९:३३

लकडाउनमा परिवारसंग समय बिताएको छुः लोकगायक खुमन अधिकारी

नेपाली लिङ्क अप्रिल ९, २०२०

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला सबैलाई त्रसित बनाएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्ने प्रयासमा अहिले कैयौं देशहरु ‘लकडाउन’को अवस्थामा छन् । नेपालमा समेत लागू गरिएको ‘लकडाउन’ ले सबैलाई जस्तै कलाकार र सेलिब्रेटीहरुलाई पनि असर गरिरहेको छ ।

‘लकडाउन’मा घरभित्रै बस्दाको अनुभव र दिनचर्याबारे नेपालका चर्चित लोकगायक खुमन अधिकारीसंग नेपाली लिंकका लागि नरेन्द्र बस्नेतले गरेको छोटो संवाद । साथमा, भाइरसबाट सुरक्षित रहन अपनाउनुपर्ने उपायहरुबारे गायक अधिकारीको भिडियो सन्देश:

लकडाउनको समय कसरी बित्दैछ ?

देश विदेशका सम्पूर्ण कार्यक्रम रद्द भएका छन् । यतिबेला घरपरिवारसंग बसेर सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गरेको छु । आफन्त, इष्टमित्र सबैलाई कोरोनाको संक्रमणबाट आफू पनि बचौं र अरुलाई पनि बचाउं भन्ने सन्देश प्रवाह गर्दै समय बिताउंदै छु ।

कोरोना भाइरसलाई कसरी बुझ्नुभएको छ ?

कोरोना भाइरस स्वदेश तथा विदेशमा रहनेहरुका लागि एउटा ठूलो विपत्ति हो । हालसम्म औषधि पत्ता नलागेको हुंदा कुनबेला कसलाई के हुन्छ भन्ने थाहा हुंदैन् । विशेषगरि वृद्धवृद्धा र स्वास्थ्यस्थिति कमजोर तथा इम्युनिटी पावर कम भएकाहरुका लागि यो घातक महामारी रहेछ ।

देश विदेश घुमिरहने बानी कस्तो महशुस हुंदोरहेछ घरैमा मात्र बसिरहंदा ?

देश विदेश घुमेर दर्शक स्रोताहरुसंग रमाइलो त छुट्टै नै हुन्छ । तर घरैमा बस्न पाउनुलाई पनि मैले एउटा अवसरको रुपमा लिएको छु । घरमा निर्धक्क बसेर परिवारसंग रमाइलो गर्ने अवसर चाडपर्वको समयमा पनि सायद कमै मात्र मिल्छ । त्यसैले घरमा बसेर रमाइलो पनि गरेको छु र सुरक्षित पनि महशुस गरेको छु ।

घरपरिवारसंग बस्दाको क्षण र दर्शकहरुका अगाडिको क्षणमा के फरक हुंदोरहेछ ?

दर्शक स्रोताहरुका अगाडि अलि प्रोफेशनल रुपमा प्रस्तुत हुनुपर्छ, हजारौं दर्शक स्रोतालाई नचाउने जोश र जांगर आउंछ तर घरमा त्यस्तो नहुंदो रहेछ । घरपरिवारसंग हुंदा पारिवारिक वातावरणमै रमाउने प्रयास हुंदोरहेछ ।

कोरोना महामारी र लकडाउन नभएको भए यतिबेला तपाईंका के योजना थिए ?

यस्तो विषम परिस्थिति नआउनु पर्दथ्यो आइहाल्यो । अब यसबाट कसरी मुक्त भएर पहिलाकै अवस्थामा पुग्न सकिन्छ त्यो नै महत्वपूर्ण विषय हो । यदि यस्तो अवस्था नआएको भए मेरा एकदमै राम्रा दुईवटा प्रोजेक्ट सार्वजनिक गर्ने लक्ष्य राखेको थिएं । गीतहरु तयार भैसकेका छन्, भिडियो तयार गर्न बांकी छ । यस अतिरिक्त नेपाली नयां वर्ष २०७७ को अवसरमा देश विदेशका कतिपय कार्यक्रमहरु तय भइसकेका थिए ।

कोरोनाबाट सुरक्षित रहन तपाईंले के कस्ता उपाय अपनाउनुभएको छ र दर्शक श्रोताहरुलाई के सल्लाह दिनुहुन्छ ?

कोरोना संक्रमणबाट बच्न म घरभित्रै बसेको छु । अनावश्यक काममा बाहिर निस्किएको छैन् । निस्कनै परेपनि मास्क लाएर मात्र हिंडेको छु । 
सेनिटाइजर साथमा बोकेर हिंड्छु, घरमा आएपछि 
राम्ररी साबुनपानीले हात धुने गरेको छु । त्यसैले संसारभर रहनुभएका सम्पूर्णमा पनि यिनै तरिकाहरु अपनाउने र आफू रहेको ठाउंमा सरकारद्वारा जारी नियमहरु पालन गर्नुहोस् अनि सुरक्षित रहनुहोस् भन्न चाहन्छु ।

कोरोना भाइरसले गर्दा कति घाटा लाग्यो हिसाब गर्नुभएको छ कि छैन् ?

थुप्रै महोत्सव लगायत नयां वर्षको कार्यक्रमहरुबाट वञ्चित भएको छु, तर यसलाई मैले आर्थिक घाटा हैन, दर्शक श्रोताहरुबाट पाउने अवसर र मायाको घाटाको रुपमा लिएको छु । हिसाब किताब र घाटा नाफा भन्दा पनि दैनिक मजदुरी गरेर आजको छाक टारेर भोलिको छाक कसरी टार्ने भन्नेहरुका बारेमा सोच्न बाध्य भएको छु । पैसा भन्दा पनि साथीभाई र आफ्ना प्रोजेक्टहरुलाई ‘मिस’ गरेको छु ।

लकडाउन र कोरोनाबाट मुक्त भएपछि सबैभन्दा पहिला के गर्नुहुन्छ ?

सर्वप्रथम त मेरा दर्शक स्रोताहरुले खोजेको नयां प्रोजेक्ट दिनेछु । सबैसंग भेटघाट गर्नेछु र कार्यक्रमहरुमा गएर दर्शक श्रोतामाझ यतिन्जेल मनभित्र गांठो पारेर राखेका सम्पूर्ण वहहरु पोख्नेछु ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

नेपाली नयां वर्ष वि.स. २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मेरा दर्शक श्रोतालाई स्वस्थ र सुरक्षित रहन अनुरोध गर्दछु । 
घरपरिवारमा नै बसेर रमाइलो गर्नुहोस्, आपतविपतमा नआत्तिनुहोस्, वि.स. २०७६ का सम्पूर्ण दुःख कष्ट यो नयां वर्षबाट हटेर जाओस् यही प्रार्थना गर्न चाहन्छु ।

हेरौं, गायक अधिकारीको भिडियो सन्देश :

कोरोनाको संक्रमणबाट बच्न घरमै बसेर सुरक्षित रहन गायक खुमन अधिकारीको आग्रह,

Posted by Nepali Link on Thursday, 9 April 2020

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू