शनिबार, वैशाख ८, २०८१
10:31 | १५:१६

नटिङहममा आइसोलेसनमा बसेका पूर्व गोर्खाको मृत्यु

नेपाली लिङ्क अप्रिल ८, २०२०

मृतक शिव श्रेष्ठ ( तस्विर स्रोत : सामाजिक सञ्जाल)

लण्डन । मंगलबार लण्डनमा कोरोना संक्रमणबाट एक पूर्व गोर्खाको निधन भएको खबर सेलाउन नपाउँदै बेलायतकै नटिङहममा पनि ‘आइसोलेसन’मा बसेका अर्का एक पूर्व गोर्खाको मृत्यु भएको छ ।
५८ वर्षका शिव श्रेष्ठको बुधबार साँझ ५ बजे स्थानीय अस्पतालमा निधन भएको हो । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।श्रेष्ठलाई कोरोनाको संक्रमण भएको आशंका गरिएपनि अस्पतालले पुष्टी गरिसकेको छैन ।

‘केहि दिनदेखि कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बस्नुभएको थियो । आज बिहान ३ बजेतिर अलिक गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल जानुभएको थियो’, मृतकका छोरा सुमन श्रेष्ठलाई उद्धृत गर्दै एनआरएनए इंग्ल्याण्डका सचिव गोविन्द खरेलले भने, ‘साँझ ५ बजे अस्पतालले परिवारलाई फोन गरेर मृत्यु भएको जानकारी गराएको हो ।’
अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट विहिबार मात्रै उपलब्ध हुने बताएको छ । मृतकलाई ह्दयघात भएको हुन सक्ने समेत आशंका गरिएको छ ।
खरेलका अनुसार सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि जिपीको सल्लाहमा उनी घरमै ‘आइसोलेसन’मा बसेका थिए । उनलाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्या रहेको कुनै जानकारी आफुहरुलाई नभएको खरेलले बताए ।

नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए । नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका श्रेष्ठको असामयिक निधनले स्थानीय नेपालीहरु स्तब्ध बनेका छन् ।

‘निकै लामो समयदेखि नटिङहममा बस्दै आउनुभएको थियो । सामाजिक क्षेत्रमा समेत रुची राख्नुहुन्थ्यो । आज असामयिक निधन भएको खबर पाउँदा यस क्षेत्रका हामी सबै नेपाली निकै दुखी छौं’, समाजका संस्थापक अध्यक्ष रण केसीले नेपाली लिंकसंग भने ।

यो पनि पढौं : बेलायतमा कोरोनाले अर्का भूतपूर्व गोर्खाको निधन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू