मंगलबार, वैशाख १८, २०८१
19:04 | २३:४९

अमिताभ, अभिषेक पछि ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

नेपाली लिङ्क जुलाइ १२, २०२०

नयांदिल्ली । भारतीय सिने जगतका हस्ती अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनसंगै अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि ‘कोभिड १९’ बाट संक्रमित भएका छन् ।

शनिबार राति अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको उनीहरुले ट्वीटरमार्फत जानकारी दिएका थिए  । उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू भएको सन्देशमा उल्लेख छ । उनीहरूलाई सङ्क्रमणको ‘हल्का लक्षण’ देखिएको बताइएको छ ।

संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गर्दै भने, ‘७७–वर्षीय अमिताब र छोरा अभिषेकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उहाँहरूको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।’

उता, अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय र छोरी आराध्यामा कोरोनाभाइरस परीक्षण गरिएको थियो । प्राप्त नतिजा अनुसार उनीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको समाचार संस्था पीटीआईले उल्लेख गरेको छ ।

भारतको महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्रीले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै कोरोना पुष्टि भएको जानकारी दिए । ऐश्वर्या र आराध्या दुवैलाई १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्न सुझाइएको छ ।

अमिताभ बच्चनकी श्रीमती जया बच्चनमा भने रयापिड टेष्टको परिणाम नेगेटिभ आएको छ । ट्वीटरमार्फत अमिताभ बच्चनले दश दिनअघिसम्म आफू निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्  ।

बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरू उनीहरूको स्वास्थ्यलाभको कामनाका सन्देशले भरिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू