सोमबार, २२ जुन, २०२६
13:06 | १७:५१

ब्रिटिश गोर्खामा पहिलो नेपाली नर्स

नेपाली लिङ्क अप्रिल ४, २०२३

लण्डन-हालसम्म उपलब्ध तथ्यहरूले शोभाकुमारी क्षेत्री ब्रिटिश सेनामा काम गर्ने पहिलो नेपालीभाषी नर्स भएको खुल्न आएको छ।

हाल ब्रिटेनमा बसोबास गर्ने शोभाकुमारीका ७५ वर्षीय छोरा राजेन्द्रका अनुसार शोभाकुमारीले मिडवाइफ (सुडेनी) का रूपमा ब्रिटिश फौजमा काम सुरु गरेकी थिइन्।

यद्यपि उनले नेपालबाटै सेवा सुरु नगरेको राजेन्द्र बताउँछन्।

हाम्रो बाजे बाग्लुङ जिल्लाबाट ब्रिटिश भारत कालमा शिलोङ (हाल पूर्वोत्तर राज्य मेघालयको राजधानी) जानु भएको रहेछ। मेरो आमाले त्यही मिडवाइफका रूपमा सेनामा काम थाल्नु भएको हो,” बीबीसीसँग कुरा गर्दै उनले भने।

“म पनि शिलोङमै जन्मिएको थिए तर सानैमा आमासँगै मलाया गएर उतै पढे। पछि ब्रिटेनमा आएर नर्सका रूपमा काम गरे।”

उनले दिएको जानकारी अनुसार शोभाकुमारीलाई ब्रिटिश सेनामा काम गर्ने पहिलो नेपालीभाषी नर्स मान्न सकिने देखिन्छ।

यद्यपि राजेन्द्र मलायाबाट ब्रिटेन जाने बेलामा त्यहाँ कार्यरत ब्रिटिश गोर्खा सैन्य अधिकृतहरूको सिफारिसका आधारमा आफूले नेपाली राहदानी नै पाएको बताउँछन्।

“सन् २०१९ सम्म म नेपाली राहदानी बोकेर नेपालीकै रूपमा यहाँ बसिरहेको थिएँ। तर पछि पासपोर्ट नवीकरण गर्ने बेलामा लण्डनस्थित नेपाली दूतावासले नयाँ कानुन अनुसार मिल्दैन भनेर मानेन अनि म राज्यविहीन बने,” उनी भन्छन्।

“अहिले चाहिँ म ब्रिटेनमा स्थायी बसोबासको अनुमति लिएर बसिरहेको छु।”

राजेन्द्रकी आमा शोभाकुमारीले करिब ३५ वर्षसम्म १० जीआर अर्थात् १० गोर्खा राइफल्समा मिडवाइफ र नर्सको रूपमा काम गरेकी थिइन्।

उनले सन् १९३८ मा काम सुरु गरेर सन् १९७२ मा नर्सका रूपमा अवकाश पाइन्।

तर उनले भारत र दक्षिणपूर्वी एशियामा मात्र सेवा गर्न पाएको तथा कहिल्यै पनि ब्रिटेन जाने अवसर नपाएको शोभाकुमारीका पुत्र राजेन्द्रको भनाइ छ।

सुरुमा उनलाई ब्रिटिश फौजमा जागिर दिनुको मुख्य उद्देश्य अङ्ग्रेजी भाषा नबुझ्ने ब्रिटिश गोर्खा फौजमा कार्यरत नेपालीका गर्भवती श्रीमतीलाई सेवा दिनु रहेको थियो।

क्षेत्रीले सुरुमा भारतमा त्यसपछि मलायामा र अन्तिम समयमा हङ्कङमा काम गरेको राजेन्द्र स्मरण गर्छन्।

उनलाई नेपाली गोर्खा समुदायले “आमाजी” भनेर सम्बोधन गर्ने गर्थे।


गोर्खा सैनिकहरूले आफ्ना परिवार पनि सँगै लान पाउने व्यवस्था भएपछि मलाया र हङ्कङमा खटिएका कतिपयले आफ्ना श्रीमतीलाई सँगै लिएर गएका थिए।

त्यसबेला गोर्खा सैनिकका श्रीमतीहरू गर्भवती हुँदा रेखदेख गर्नेदेखि मलाया युद्धका घाइतेको उपचारका क्रममा समेत शोभाकुमारी खटिएको राजेन्द्र स्मरण गर्छन्।

घाइते सैनिकहरूलाई मनोपरामर्श दिने काममा पनि उनी खटिएकी बताइन्छ।

सन् १९८८ मा निधन भएकी उनलाई सन् १९६० मा ब्रिटिश एम्पायर मेडल (बीईएम) ले सम्मान गरिएको थियो।

बीबीसी नेपाली 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू