ग्रीनवीच कप शनिबार, यो वर्ष फुटबल मात्रै


लन्डन । साउथ इष्ट लन्डनमा हरेक वर्ष हुँदै आएको ग्रीनवीच कप फुटबल यस वर्ष यही शनिबार सेप्टेम्बर ११ मा हुने भएको छ ।
नेपाली युथ एशोसिएसनको आयोजनामा हुने प्रतियोगिता चार्ल्टन पार्कमा खेलाइनेछ ।
विगतका वर्षहरुमा वुल्लिच आर्टिलरी ब्यारेकको मैदानमा हुँदै आएको प्रतियोगिता यस वर्ष उक्त मैदान मर्मत जारी रहेका कारण चार्ल्टन पार्कमा गर्न लागिएको हो ।
मैदान परिवर्तन र अहिले फेरि बढ्दै गरेको कोभिड संक्रमणलाई समेत ध्यानमा राख्दै यस वर्ष महोत्सव नगरेर फुटबल प्रतियोगितामा सिमित राखिएको आयोजक एशोसिएसन अध्यक्ष लछुमन गुरुङले बताए ।
पछिल्ला केही वर्षमा ग्रीनवीच कपमा लाइभ म्युजिक, खानाका स्टल, बालबालिकाका खेल जस्ता आकर्षणहरु समेत थपेर महोत्सवका रुपमा आयोजना गरिँदै आएको थियो ।
‘यसपटक महोत्सव नभएर ग्रीनवीच कप मात्र हुँदैछ । त्यसैले लाइभ म्युजिकका कार्यक्रम हुने छैनन् । खाना बिक्री गर्ने स्टलहरु पनि राखिने छैनन्’, अध्यक्ष गुरुङ भन्छन्, ‘तर खेल हेर्न आउने दर्शकहरुले आफ्नै हिसाबले खानाहरु ल्याउने, पार्कमा बस्ने, खाने गर्न सक्नुहुनेछ ।’
ग्रीनवीच कपमा यो वर्ष बेलायतभरका कुल १६ वटा टीमले भाग लिंदैछन् ।
प्रतियोगिताका विजेतालाई १५ सय पाउन्ड तथा उपविजेतालाई ५ सय पाउन्ड नगदसहितको पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




