मंगलबार, वैशाख १८, २०८१
13:46 | १८:३१

नेपालमा मार्चमा १५ हजार विदेशी भित्रिए    

भारतबाट मात्र ७ हजार ६५८

रासस अप्रिल १, २०२१

काठमाडौँ । सन् २०२१ मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो ।

वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, तीन हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् ।

तुलनात्मक रुपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत काम हो । सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कमी हो । सन् २०१९मा एक लाख २७ हजार ३१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार ६५८ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट एक हजार ७०३ पर्यटक आएका छन् । चीनबाट एक हजार २०७ पर्यटक आएका छन् । बेलायतबाट ६६५ र बङ्गलादेशबाट ५६८ पर्यटक नेपाल आएका छन् ।

वसन्तयामको आरोहण चलिरहेकाले अहिले अधिक सङ्ख्यामा विदेशी नेपाल आउनुले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन सकारात्मक प्रभाव पर्ने बोर्डको अनुमान छ ।

बोर्डका प्रवक्ता मणि लामिछानेले क्रमशः विदेशी पर्यटकको आगमन वृद्धिले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको र यसले समग्र पर्यटन क्षेत्रलाई उत्साहित तुल्याएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू