शनिबार, २८ नोभेम्बर, २०२६
14:31 | २०:१६

बेलायती अर्थमन्त्रीको घोषणा: अर्थतन्त्र संकटमा

अर्थतन्त्र ११ प्रतिशत भन्दा बढी खुम्चिने अनुमान

नेपाली लिङ्क नोभेम्बर २५, २०२०

लण्डन । बेलायत सरकारका अर्थमन्त्री ॠषि सुनाकले कोभिड महामारीका कारण देश आर्थिक संकटमा फसेको घोषणा गरेका छन्  ।  

बुधबार संसदमा यो वर्षको ‘स्पेन्डिङ रिभ्यू’ प्रस्तुत गर्दै उनले देशमा आर्थिक संकट अहिले शुरुवाती चरणमै रहेको उल्लेख गरे ।   

देशलाई यो संकटबाट पार लगाउन सरकारले अल्पकालिन तथा दिर्घकालिन योजना र नीति तय गरेको उनले जनाए ।  

आउंदो वर्ष देशको अर्थतन्त्र ११ दशमलव ३ प्रतिशत भन्दा बढी खुम्चिने अनुमान सरकारको छ । यति ठूलो तहमा बेलायतको अर्थतन्त्र संकुचित हुन लागेको पछिल्लो ३ सय वर्षमै पहिलोपटक भएको मन्त्री सुनाकले बताए ।  

आर्थिक संकटबीच सरकारको पहिलो प्राथमिकता रोजगारी रहेको मन्त्री सुनाकको भनाइ छ । आगामी वर्षको दोस्रो त्रैमासिक अवधिमा बेरोजगारी दर बढेर ७ दशमलव ५ प्रतिशत पुग्ने आंकलन उनले प्रस्तुत गरेका छन् । जुन बेला बेलायतमा बेरोजगारहरुको संख्या २६ लाखसम्म पुग्नेछ ।  

मन्त्री सुनाकले आगामी वर्ष ‘पब्लिक सेक्टर’ मा कार्यरत कर्मचारीको तलब वृद्धि नगर्ने घोषणा गरे । तर डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र एनएचएस कर्मचारीको तलब बढाइनेछ । वार्षिक आम्दानी २४ हजार पाउण्डभन्दा कम हुनेहरुको तलब कम्तीमा २ सय ५० पाउण्ड बढ्ने बताइएको छ  ।  

बेलायत सरकारले विदेशी मुलुकहरुलाई वर्षेनी प्रदान गर्दै आएको अनुदान पनि घटाएको छ । यसअघि अनुदानमा बांडिदै आएको कुल आम्दानीको शून्य दशमलव ७ प्रतिशत कोष कटौति गरी शून्य दशमलव ५ मा झारिएको छ ।  

मन्त्री सुनाकका अनुसार कोभिड १९ महामारीविरुद्धको लडाईंमा बेलायत सरकारले यो वर्ष २ सय ८० विलियन पाउण्ड खर्च गरिसकेको छ । आउंदो वर्ष ‘पब्लिक सर्भिस’ हरुको सहयोगमा थप ५५ विलियन पाउण्ड खर्च गरिंदैछ ।  

कोभिड महामारीका कारण बेलायत सरकारले केन्द्रीय बैंकबाट लिने ऋण पनि यसअघि योजना गरिएभन्दा निकै बढी ३ सय ९४ विलियन पाउण्ड पुग्ने भएको छ । जुन बेलायत युद्धमा रहेको वर्षहरुबाहेकको समयमध्ये सबैभन्दा उच्च हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू