मंगलबार, वैशाख १८, २०८१
14:30 | १९:१५

इंग्ल्याण्डमा लागू लकडाउन डिसेम्बर २ पछि हटाउने तयारी

क्षेत्रगत रुपमा तीन तहका प्रतिवन्धहरु लागू गरिने

नेपाली लिङ्क नोभेम्बर २२, २०२०

लण्डन । इंग्ल्याण्डमा अहिले लागू लकडाउन पूर्व निर्धारित डिसेम्बर २ भन्दा पर नलम्बिने भएको छ ।

सरकारले डिसेम्बर २ पछि लकडाउन अन्त्य गर्ने र जोखिम तथा  संक्रमणका आधारमा क्षेत्रगत रुपमा कडा प्रतिवन्धहरु लागू गर्ने योजना बनाएको बेलायती मिडियाले जनाएका छन्   

कोरोना महामारी नियन्त्रणका लागि बेलायत सरकारले तय गर्ने सरकारको ‘कोभिड विन्टर प्लान’ का सम्बन्धमा आइतबार मन्त्रीपरिषदमा निर्णायक छलफल गरी सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गर्ने तयारी छ ।  

सरकारको योजनाअन्तर्गत क्रिसमसका लागि डिसेम्बर २२ देखि २८ तारिखसम्म पारिवारिक जमघट केही खुकुलो गरिनेछ । तर कति जनासम्मको जमघटलाई छुट दिइने भन्ने अझै स्पष्ट भएको छैन । क्रिसमसको लागि यूकेव्यापी समान व्यवस्था लागू गर्न अन्य राज्यका स्थानीय प्रशासनहरुसँग पनि छलफल भइरहेको बताइएको छ ।  

डिसेम्बर २ देखि लकडाउन हटेपछि यसअघि लागू गरिएजस्तै क्षेत्रगत रुपमा फरक-फरक तहका प्रतिवन्धहरु लगाइनेछ । तर ती प्रतिवन्धहरु विगतको तुलनामा थप कडा पारिने जनाइएको छ ।  

संक्रमणको आधारमा मध्यम, उच्च र अति उच्च गरी तीन तहमा वर्गीकरण गर्ने क्रममा धेरै क्षेत्रलाई अति उच्च तहमा राखेर कडा प्रतिवन्धहरु लगाउने योजना छ । कुन क्षेत्रलाई कुन तहमा राख्ने भन्ने निर्णय आउंदो विहिबार गरिनेछ ।  

लकडाउनपछि लगभग सबै पसल तथा व्यवसाय खुला गरिएपनि  बेटिङ शप, ‘वेट बार’ लगायतका केही क्षेत्र भने थप केही समय बन्द नै रहन सक्नेछन् । हस्पिटालिटी सेक्टरका रेष्टुरेन्ट, पबहरु बन्द गर्नुपर्ने समय विगतको भन्दा एक घण्टा बढाएर ११ बजे पुर्याउने तयारी छ । ‘लास्ट अर्डर’ १० बजे नै गरिएपनि रेष्टुरेन्ट, पबभित्रै रहेका ग्राहक ११ बजेसम्म बस्न पाउनेछन् ।  

बेलायतमा मार्चदेखि शुरु भएको पहिलो लकडाउन झन्डै तीन महिना कायम रहेको थियो । कोरोना संक्रमण फैलिने क्रम फेरि बढेसंगै गत नोभेम्बर ५ देखि इंग्ल्याण्डमा दोस्रो चरणको एक महिना लामो लकडाउन लागू गरिएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू