बेक्सली नेपाली समाजको तीन वर्षे ‘फेमिली हब’ कार्यक्रम शुभारम्भ

लन्डन- बेक्सली नेपाली समाजमा स्थानीय समुदायको स्वास्थ्य, वेलबिइङ र समग्र विकासलाई लक्षित गर्दै तीन वर्षे ‘फेमिली हब’ कार्यक्रम शुभारम्भ भएको छ।
आइतबार वेलिङको फाल्कनवुडस्थित ह्यारिस एकेडेमीमा आयोजित समारोहमा स्थानीय बेलायती सांसद लुई फ्रेन्च, बेक्सली बरोका काउन्सिलरहरू तथा समुदायका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको हो। समाजकी अध्यक्ष बिजिता गौतम र सांसद लुई फ्रेन्चले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए।

आगामी तीन वर्षसम्म सञ्चालन हुने फेमिली हब कार्यक्रमअन्तर्गत समुदायका सदस्यहरूको स्वास्थ्य प्रवर्द्धन, वेलबिइङ तथा व्यक्तिगत विकासलाई लक्षित गरी विभिन्न कार्यक्रम र सेसनहरू सञ्चालन गरिनेछन्। बालबालिका, किशोरकिशोरी, युवा, प्रौढ तथा वृद्धवृद्धा सबै उमेर समूहलाई लक्षित फरक फरक सेसन हुनेछन्।
महिला सशक्तीकरण, बालबालिका तथा युवाको शिक्षा र स्वास्थ्य, किशोरीहरूको मेन्टरिङ, वृद्धवृद्धाको स्वास्थ्य तथा सामाजिक गतिविधि, पोषण र पारिवारिक फिटनेस, आर्थिक व्यवस्थापन, विशेष आवश्यकता भएका बालबालिकाका अभिभावकलाई सहयोग तथा सामुदायिक सहभागितासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
फेमिली हब कार्यक्रमको समग्र संयोजनको जिम्मेवारीसहित ज्ञानेन्द्र ढकाललाई संयोजक नियुक्त गरिएको छ। उनको नेतृत्वमा विभिन्न परियोजनाका लागि प्रोजेक्ट लिड, स्वयंसेवक तथा सपोर्ट वर्करहरूको व्यवस्था गरी कार्यक्रम सञ्चालन गरिनेछ।
फेमिली हब कार्यक्रमका लागि बेक्सली नेपाली समाजले नेशनल लोटरीबाट तीन वर्षका लागि कुल १ लाख ३९ हजार ७ सय ८१ को ग्रान्ट प्राप्त गर्न सफल भएको छ। उक्त ग्रान्ट प्राप्त गर्न समाजका ट्रष्टी दिपेन सिटौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
समाजकी अध्यक्ष बिजिता गौतमको अध्यक्षतामा सम्पन्न फेमिली हब उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव उमेश गौतमले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष हिमाल गुरुङले स्वागत मन्तव्य दिएका थिए।
सो अवसरमा ट्रष्टी दिपेन सिटौलाले एक प्रिजेण्टेसन प्रस्तुत गर्दै फेमिली हब कार्यक्रमका लागि प्राप्त नेशनल लट्री ग्राण्टबारे बताए। उनले कार्यक्रमको अवधारणा र यसअन्तर्गत संचालन हुने सेसनहरुबारे पनि जानकारी गराए।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै सांसद लुई फ्रेन्चले फेमिली हब शुभारम्भ भएको दिन बेक्सली नेपाली समाजका लागि ऐतिहासिक रहेको बताए। कार्यक्रमबाट स्थानीय नेपाली समुदायका धेरै सदस्य लाभान्वित हुने विश्वाससमेत उनले व्यक्त गरे। सांसद फ्रेञ्चले नेपाली समुदायसँग आफूले लामो समयदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए।
फेमिली हबको अवधारणा अघि बढाएकी अध्यक्ष बिजिता गौतमले यो कार्यक्रमलाई बेक्सली नेपाली समाजका सदस्यहरुको लागि आफ्ना अनुभव तथा समस्या शेयर गर्ने, सिक्ने, सहयोग प्राप्त गर्ने र आपसी सम्बन्ध मजबुद बनाउने साझा चौतारीका रूपमा विकास गर्ने सोच रहेको बताइन्।
संस्थाको नेतृत्व सम्हाल्दै गर्दा समुदायको आवश्यकतालाई महसुस गरी यस्तो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेको उल्लेख गर्दै उनले कार्यक्रमलाई साकार पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। साथै, आगामी तीन वर्षमा कार्यक्रमलाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्न समुदायका सबैको साथ र सहयोग अपेक्षा व्यक्त गरिन्।
यसअघि अध्यक्ष बिजिता गौतमको अध्यक्षतामा समाजको वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सभामा महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदनहरु छलफल गरी पारित गरिएको थियो।
सो अवसरमा संस्थाका कोषाध्यक्ष तिलक लम्साल र महासचिव उमेश गौतमलाई रिक्त ट्रष्टी पदमा नियुक्त गर्ने निर्णय गरिएको थियो। साथै, सोही अवसरमा समाजका विभिन्न कार्यक्रमहरूको संयोजन गर्ने तथा अन्य माध्यमबाट संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने सदस्यहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो।
तस्विर: गुणदेव घिमिरे


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



