शनिबार, २८ नोभेम्बर, २०२६
15:24 | २१:०९

बेलायतमा सवारीसाधन उत्पादन वृद्धि

रासस/सिन्ह्वा नोभेम्बर २८, २०२६

लन्डन, मङ्सिर १२ गते । बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्ष ४.८ प्रतिशतले वृद्धि भएको छ।

सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार अक्टोबर महिनामा कार तथा व्यावसायिक सवारीसाधन गरी कुल ६४ हजार १४१ वटा उत्पादन भएका छन्।

एसएमएमटीका अनुसार कार उत्पादन लगातार तेस्रो महिनामा वृद्धि हुँदै ६.२ प्रतिशतले बढेर ६१ हजार ७४६ युनिट पुगेको छ। गत वर्ष अक्टोबरमा बेलायतका ठूला अटोमोबाइल उत्पादकमध्ये एक कम्पनीमा भएको ठूलो साइबर आक्रमणका कारण उत्पादन रोकिएकाले यस वर्षको वृद्धि तुलनात्मक रूपमा उच्च देखिएको हो।

उत्पादन वृद्धिमा निर्यातको प्रमुख योगदान छ । कार निर्यात १४.२ प्रतिशतले बढेको छ। कुल कार उत्पादनमध्ये ८२.६ प्रतिशत निर्यात भएको छ, जुन सन् २०२४ डिसेम्बरयताकै सबैभन्दा उच्च मासिक अनुपात हो।

युरोपेली संघ (ईयू) बेलायतको सबैभन्दा ठूलो निर्यात बजारका रूपमा कायम छ। कुल निर्यातमध्ये ५३.७ प्रतिशत हिस्सा ईयूको रहेको भए पनि त्यहाँ पठाइने सवारीसाधनको परिमाण भने ७.१ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।

एसएमएमटीका प्रमुख कार्यकारी माइक हाउजले उत्पादनमा निरन्तर देखिएको वृद्धिको स्वागत गर्दै बेलायतको सवारीसाधन उद्योग अझै दबाबमा रहेको बताए ।

उनले विश्व बजारमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला लगानी आकर्षित गर्न अनुकूल औद्योगिक वातावरण आवश्यक रहेको उल्लेख गरे । उद्योगको उत्पादन लागत अत्यधिक रहेकाले त्यसलाई घटाउने, ईयूसँग स्वतन्त्र तथा खुला व्यापार कायम राख्ने र शून्य उत्सर्जन सवारीसाधनसम्बन्धी सरकारी नीतिमा ठोस सुधार गर्ने आवश्यकता उनले औल्याए ।

एसएमएमटीको तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा बेलायतका कारखानाबाट कुल ६ लाख २८ हजार ६७८ वटा कार तथा व्यावसायिक सवारीसाधन उत्पादन भएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशत कम हो।

एसएमएमटीको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२७ मा बेलायतको सवारीसाधन उत्पादन बढेर ७ लाख ५२ हजार युनिट पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, उत्पादन क्षेत्रमा प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्न सकेमा मात्र उद्योगको दिगो पुनरुत्थान र निरन्तर वृद्धि सम्भव हुने संस्थाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू