शुक्रबार, २७ नोभेम्बर, २०२६
17:37 | २३:२२

बेलायतमा कार्यरत पेस्ट्री सेफ श्रेष्ठलाई लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय पदक

नेपाली लिङ्क नोभेम्बर २७, २०२६

लन्डन । बेलायतमा कार्यरत पेस्ट्री सेफ नारायण श्रेष्ठले लक्जेम्बर्गमा आयोजित प्रतिष्ठित ‘आरएके पोर्सिलेन कलिनरी वर्ल्ड कप २०२६’ मा रजत पदक जितेका छन् । यसै साता सम्पन्न प्रतियोगिताको ‘पेस्ट्री आर्ट’ विधामा उनले उक्त सफलता हासिल गरेका हुन् ।

प्रत्येक चार वर्षमा लक्जेम्बर्गको ‘एक्सपोग्यास्ट’ को एक हिस्साका रूपमा आयोजना हुने यो विश्वकप पाककला (कलिनरी) क्षेत्रको एक प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पाँच महादेशका विभिन्न देशबाट सहभागी प्रतिभाशाली सेफ, पेस्ट्री व्यवसायी र कलिनरी टोलीहरूले यस मञ्चमार्फत आफ्ना कला, सिर्जनात्मकता, प्राविधिक निपुणता र पाककलाको नवीनता प्रस्तुत गरेका थिए । प्रतियोगितामा बेलायतबाट १५ जनाको सहभागिता थियो ।

प्रतियोगितामा श्रेष्ठले ‘एबिसल सिम्फोनी— अ भ्वाइस फर आवर प्लानेट’ शीर्षकको चकलेट कला प्रस्तुत गरेका थिए, जसमा उनले हिमालय र महासागरको सुन्दरतालाई संयोजन गर्दै जलवायु परिवर्तन र पृथ्वीको संरक्षणसम्बन्धी महत्त्वपूर्ण सन्देश दिएका थिए ।

नारायणले सोही प्रतियोगितामा ‘पेस्ट्री आर्टिस्टिक’ विधामा आफ्नो चकलेट शो पिसका लागि कास्य पदक पनि जितेका छन् ।

जितपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भने, “यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु गौरवको क्षण हो । यो हाम्रो देशको सिर्जनशीलता, सम्पदा र पहिचान विश्वसामु चिनाउने अवसर पनि बन्यो । यो उपलब्धि केवल पदकमा मात्र सीमित छैन, यसले नेपाली पाककलाको प्रतिभाले विश्वस्तरमा के हासिल गर्न सक्छ भन्ने देखाएको छ ।”


किचन हेल्परदेखि विश्वकप विजेतासम्मको यात्रा

धादिङको मैदीमा जन्मिएका नारायण १९ वर्षको कलिलो उमेरमै रोजगारीका सिलसिलामा नेपाल छोडेर विदेशिएका थिए । सुरुमा दुबईको एक होटेलमा ‘किचन हेल्पर’ का रूपमा काम थालेका उनले त्यहीँ बेकरी विभागमा तालिम लिने अवसर पाए ।

बिस्तारै आफ्नो सीप निखार्दै पेस्ट्री सेफ बनेका श्रेष्ठले दुबई र कतारमा प्रतिष्ठित ‘फोर सिजन्स’ होटेलमा आठ वर्ष काम गरे । सन् २०२३ मा ‘वर्क भिसा’ मा बेलायत आएका उनी हाल लन्डन ओटुस्थित ‘इन्टरकन्टिनेन्टल होटेल’ मा पेस्ट्री सेफका रूपमा कार्यरत छन् । यसअघि सन् २०२४ मा पनि उनले बेलायतको चर्चित ‘बेक अफ: द प्रोफेसनल’ प्रतियोगितामा पनि अवार्ड जितेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू