आइतबार, २२ नोभेम्बर, २०२६
21:32 | ०३:१७

बेलायतमा नेपाली अनुसन्धानकर्ताले पाइन् ५ करोड रुपैयाँ बढीको फेलोसिप

नेपाली लिङ्क नोभेम्बर २२, २०२६

लन्डन- नेपाली अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठ बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ब्रिटिश एकेडेमीबाट २ लाख ५५ हजार ८८४ पाउन्ड अर्थात् करिब ५ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएकी छन्।

उनले सन् २०२६ को ‘ब्रिटिश एकेडेमी इन्टरनेसनल फेलोसिप’ प्राप्त गरेकी हुन्। यो फेलोसिप प्राप्त गर्ने आफू पहिलो नेपाली अनुसन्धानकर्ता भएको डा. श्रेष्ठले बताएकी छन्। बेलायतको लबरो विश्वविद्यालयमा आबद्ध भएर उनले डिसेम्बर २०२६ देखि नोभेम्बर २०२८ सम्म दुई वर्ष अनुसन्धान गर्नेछिन्।

सन् १९०२ मा स्थापना भएको ब्रिटिश एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको प्रतिष्ठित राष्ट्रिय शैक्षिक संस्था हो।

विराटनगर स्थायी घर भएकी डा. श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। त्यसपछि थाइल्यान्डको प्रिन्स अफ सोङ्क्ला विश्वविद्यालयबाट सन् २०२३ मा दिगो ऊर्जा व्यवस्थापन विषयमा विद्यावारिधि पूरा गरेकी हुन्।

ऊर्जा, जलवायु परिवर्तन, दिगो विकास र सामाजिक समावेशिताका क्षेत्रमा अनुसन्धान गर्दै आएकी उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा परामर्शदाताका रूपमा काम गरिसकेकी छन्। त्यस्तै एसियाली विकास बैंक, इनर्जिया, एसएनभी नेपाल र फिनिस चर्च एडलगायतका अन्तर्राष्ट्रिय संस्थासँग पनि अनुसन्धान तथा विकाससम्बन्धी काम गरेकी छन्।

इनर्जी पोलिसी, इनर्जी रिसर्च एन्ड सोसल साइन्स र इन्टरनेसनल जर्नल अफ डिजास्टर रिस्क रिडक्सनजस्ता प्रतिष्ठित जर्नलमा उनका अनुसन्धान प्रकाशित भएका छन्।

बेलायतमा डा. श्रेष्ठको अनुसन्धान बेलायतले अघि सारेको शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने नीतिले सबै समुदायलाई समान रूपमा समेटेको छ कि छैन भन्ने विषयमा केन्द्रित हुनेछ।

विशेषगरी आप्रवासी, महिला, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर परिवारले ऊर्जा संकट र महँगीको सामना गर्दा भोग्नुपर्ने समस्याबारे उनले अध्ययन गर्नेछिन्। जलवायु परिवर्तन नियन्त्रणका लागि बनाइएका नीतिहरू सबै वर्गका लागि समान रूपमा लाभदायक छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान गरी नीतिगत सुझावसहित प्रतिवेदन तयार गर्ने उनको योजना छ।

लफबरो विश्वविद्यालयका मानव भूगोल विषय प्राध्यापक डा. अजमेरी फिरदौस र प्राध्यापक एड ब्राउनले उनको अनुसन्धानमा सहयोग गर्नेछन्। डा. फिरदौसले लिङ्क्डइनमार्फत डा. श्रेष्ठको छनोटप्रति खुशी व्यक्त गर्दै उनलाई विश्वविद्यालयमा स्वागत गर्न उत्साहित रहेको बताएका छन्।

डा. श्रेष्ठले यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई अन्तर्राष्ट्रिय अनुसन्धान क्षेत्रमा नेपालको उपस्थिति र पहिचान स्थापित गर्ने अवसर भएको बताएकी छन्। नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले बेलायतमा रहेर नेपालको जलवायु तथा ऊर्जा नीतिसम्बन्धी विषयलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उठाउने उनको योजना छ।

फेलोसिपसँगै उनले बेलायतको ग्लोबल ट्यालेन्ट भिजासमेत प्राप्त गरेकी छन्। डा. रोजी प्रधान श्रेष्ठको यो उपलब्धिलाई नेपाली शैक्षिक तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू