सुदूरपश्चिम रोयल्सले जित्यो तेस्रो एनपिएल उपाधि

काठमाडौँ- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले निकै आक्रामक ब्याटिङ गर्दै १३.३ ओभरमै बिना विकेट पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर जर्ज मन्सेले उत्कृष्ट शतकीय पारी खेले। उनले मात्र ५४ बलमा अविजित १२५ रन बनाए। उनको इनिङ्समा १२ छक्का र आठ चौका समावेश थिए।
अर्का ओपनर विनोद भण्डारीले पनि मन्सेलाई राम्रो साथ दिए। उनले २७ बलमा अविजित ३० रन बनाए। दुवै ओपनरले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक उपाधि जित्न सफल भयो। यसअघि दुई पटक फाइनल खेले पनि उपाधि जित्न नसकेको टोलीले तेस्रो प्रयासमा च्याम्पियन बन्ने इतिहास बनायो। उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो। उपविजेता लुम्बिनीले ६० लाख रुपैयाँमा चित्त बुझायो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ र डार्सी शर्टले २१ रनको योगदान दिए।
सुदूरपश्चिमका बलर स्कट कुगलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट लिए।
लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। तर फाइनलमा भने सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई कुनै विकेट नलिई लक्ष्य पूरा गरेर पराजित गर्यो। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।




