बुधबार, १८ नोभेम्बर, २०२६
10:34 | १६:१९

युरोपेली साझा मुद्रा प्रयोग गर्ने २१ देशको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो

रासस नोभेम्बर १८, २०२६

बेल्जियम । युरोपेली आयोगले मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा संकट बढे पनि युरोपेली साझा मुद्रा प्रयोग गर्ने २१ देशको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो अवस्थामा रहेको भन्दै सन् २०२६ का लागि आर्थिक वृद्धिदरको अनुमान बढाएको छ ।

आयोगले यस वर्ष युरोजोनको कुल गार्हस्थ्य उत्पादन १. २ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसअघि ०.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको थियो। आगामी वर्ष पनि आर्थिक वृद्धि १.२ प्रतिशत रहने अनुमान छ ।

तर, महँगी भने अझै उच्च रहने आयोगले चेतावनी दिएको छ । सन् २०२६ मा मूल्यवृद्धि ३.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसअघि ३ प्रतिशत रहने आकलन थियो। त्यस्तै, सन् २०२७ मा मूल्यवृद्धि ३.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्ध र त्यसको जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगीमाथि गरेको कारबाहीका कारण विश्व बजारमा तेल तथा प्राकृतिक ग्यासको आपूर्ति प्रभावित भएको छ । यसले ऊर्जा मूल्य बढाएको छ ।

आयोगका अनुसार आगामी वर्ष ऊर्जाको मूल्यवृद्धि केही कम भए पनि खाद्यान्नको मूल्य भने बढ्न सक्नेछ । ऊर्जा तथा मलको महँगो लागत र प्रतिकूल मौसमले कृषि उत्पादनमा असर पार्ने अनुमान छ ।

युरोपका दुई ठूला अर्थतन्त्र जर्मनी र फ्रान्सको अवस्था भने फरक देखिएको छ। जर्मनीको आर्थिक वृद्धि यस वर्ष १.३ प्रतिशत हुने अनुमान छ भने फ्रान्सको वृद्धि ०.४ प्रतिशतमा सीमित रहनेछ ।

आगामी वर्ष जर्मनीको आर्थिक वृद्धि १ प्रतिशत र फ्रान्सको ०.६ प्रतिशत रहने आयोगको प्रक्षेपण छ । जारी द्वन्द्व, व्यापारिक तनाव र वित्तीय बजारको अस्थिरताले युरोपेली अर्थतन्त्रमा चुनौती थप्न सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू