ब्रेक्जिट असफल भएको बर्नहामको स्वीकारोक्ति, युरोपसँग नयाँ सम्झौता गर्दै बेलायत


लन्डन- बेलायतले युरोपेली संघ छाडेर के पायो ? झन्डै सात वर्षअघि स्वतन्त्र व्यापार र आफ्नो निर्णय आफैँ गर्ने अधिकारको नारासहित गरिएको ब्रेक्जिटले बेलायती नागरिकको जीवन सहज बनायो कि अर्थतन्त्रमा थप समस्या सिर्जना गर्यो ?
अब यही प्रश्न उठाउँदै बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले ब्रेक्जिटले अपेक्षित परिणाम दिन नसकेको बताएका छन् । उनी अब युरोपेली संघसँग नयाँ सम्झौता गर्ने तयारीमा छन् ।
लन्डनमा आयोजित लर्ड मेयरको भोजमा विदेश नीतिसम्बन्धी सम्बोधन गर्दै बर्नहमले सन् २०२० मा बेलायत युरोपेली संघबाट बाहिरिएपछि बनेको सम्झौता सफल नभएको बताए ।
उनको भनाइमा बेलायतले पाएको ब्रेक्जिट सम्झौता सन् २०१६ मा जनताले मतदान गर्दा कल्पना गरेको भन्दा निकै कठोर थियो । यसले व्यवसायमा अवरोध सिर्जना गर्नुका साथै बेलायतको आर्थिक सम्भावनालाई समेत कमजोर बनाएको छ ।
बर्नहमले भनेका छन्, ‘हामीले पाएको ब्रेक्जिट सफल भएको छैन । हामीले प्राप्त गरेको भन्दा गुमाएको बढी छ ।’ त्यसैले अब बेलायतले युरोपसँग टकराव होइन, सहकार्यको बाटो रोज्नुपर्ने उनको तर्क छ ।
यसैक्रममा आगामी नोभेम्बर २० मा ब्रसेल्समा हुने बेलायत–ईयू शिखर सम्मेलनमा तीनवटा महत्त्वपूर्ण सम्झौता गर्ने तयारी छ । खाद्य तथा कृषि उत्पादनको व्यापार सहज बनाउने, उत्सर्जन व्यापार प्रणालीमा सहकार्य गर्ने र युवाहरूका लागि आवागमन योजना ल्याउने विषय त्यसमा समेटिएका छन् ।
यी सम्झौता कार्यान्वयन भए बेलायती व्यवसायले युरोपमा सामान निर्यात गर्दा भोग्नुपरेका केही प्रशासनिक झन्झट कम हुन सक्छन् ।
त्यस्तै, युवा आवागमन योजनाले बेलायत र युरोपका युवालाई अर्को पक्षको देशमा निश्चित अवधिका लागि बस्न, काम गर्न वा अध्ययन गर्न सहज बनाउन सक्छ ।
तर यसको अर्थ बेलायत तत्कालै युरोपेली संघमा फर्किने, एकल बजार वा भन्सार संघमा पुनः जोडिने अथवा पुरानै स्वतन्त्र आवागमन व्यवस्था लागू गर्ने भन्ने होइन । सरकारले तत्कालका लागि यी विषयमा आफ्नो चुनावी प्रतिबद्धताको सीमा कायम राख्ने जनाएको छ ।
बेलायतको यो नयाँ पहललाई युरोपेली सम्बन्धमा ठूलो नीतिगत परिवर्तनका रूपमा हेरिएको छ । तर यसले बेलायती अर्थतन्त्र, रोजगारी र आप्रवासनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा आगामी सम्झौताको वास्तविक स्वरूपले निर्धारण गर्नेछ ।
ब्रेक्जिटपछि टाढिएको बेलायत फेरि युरोपसँग नजिकिँदैछ । के यो नयाँ सम्बन्धले बेलायती अर्थतन्त्रलाई अपेक्षित लाभ दिन सक्ला ?
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



