बिहीबार, १२ नोभेम्बर, २०२६
20:19 | ०२:०४

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण विकास

रासस नोभेम्बर १२, २०२६

सिड्नी । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका छन् ।

अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, ‘रिप आय’ नामक उक्त परियोजनाअन्तर्गत विकसित उपकरणले समुद्रको सतह र छालको अवस्थासम्बन्धी तस्बिर विश्लेषण गरी केही सेकेन्डमै सम्भावित खतरनाक धार पहिचान गर्न सक्छ ।

यस उपकरणमा अन्तरक्रियात्मक खेलसमेत समावेश गरिएको छ । यसले सर्वसाधारणलाई समुद्रमा देखिने खतरनाक धार पहिचान गर्ने तरिका सिकाउन मद्दत गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

रिप करेन्ट अस्ट्रेलियाका समुद्र तटमा हुने सबैभन्दा घातक जोखिममध्ये एक हो । सन् २०२५ को राष्ट्रिय डुबानसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका समुद्र तटमा भएका डुबानका घटनामध्ये ४७ प्रतिशतमा यस्ता धारको भूमिका थियो । उक्त प्रतिवेदनमा समुद्र तटमा डुबेर मृत्यु भएका ६६ जनाको विवरण समावेश छ ।

अनुसन्धानकर्ताले विभिन्न समुद्र तटबाट सङ्कलन गरिएका १० हजारभन्दा बढी रिप करेन्टसम्बन्धी विवरणसहित हजारौँ तस्बिर प्रयोग गरी एआई मोडेललाई प्रशिक्षण दिएका थिए ।

अनुसन्धानकर्ताका अनुसार, उक्त उपकरणले करिब ८० प्रतिशत अवस्थामा रिप करेन्ट सही रूपमा पहिचान गर्न सक्छ । यद्यपि, यसले कुनै जलक्षेत्र सुरक्षित रहेको सुनिश्चित गर्न नसक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

यस गर्मीयाममा अस्ट्रेलियाका छनोट गरिएका सर्फ लाइफ सेभिङ क्लबहरूमा उक्त उपकरणको परीक्षण गरिनेछ । भविष्यमा समुद्र तटमा जनचेतना अभिवृद्धि तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन यसको प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू