बुधबार, १४ अक्टोबर, २०२६
12:21 | १७:०६

बेलायतको ‍औपचारिक भ्रमण सकेर फर्किए प्रधान सेनापति सिग्देल

नेपाली लिङ्क अक्टोबर १४, २०२६

काठमाडौँ। मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) को ‍औपचारिक भ्रमण सकेर प्रधान सेनापति महारथी अशोक राज सिग्देल आश्विन २८ गते स्वदेश फिर्ता भएका छन् ।

बेलायती सेना प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल १९ असोजदेखि २५ गतेसम्म बेलायतको औपचारिक भ्रमणमा थिए ।

बेलायत रहंदा प्रधानसेनापति सिग्देलले एन्डोभरस्थित ब्रिटिश सेनाको मुख्यालयमा बेलायती सेना प्रमुख वाकरसंग औपचारिक भेटघाट गरेका थिए।

प्रधान सेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धबारे कुराकानी भएको थियो ।

उक्त भेटघाटले बेलायत र नेपालबीच घनिष्ठ र लामो समयदेखिको रक्षा साझेदारीलाई प्रतिबिम्बित गरेको थियो।

साथै प्रधानसेनापति सिग्देलले ‘क्याम्ब्रियन पट्रोल अभ्यास २०२६’ सफलतापूर्वक सम्पन्न गरी स्वर्ण पदक जितेका नेपाली सेनाको टोलीलाई पुरस्कार प्रदान गरेका थिए।

यसअघि प्रधान सेनापति सिग्देलले विभिन्न उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै उनले लन्डनस्थित ह्वाइटहलको हर्स गार्ड्स एभेन्यूमा अवस्थित ऐतिहासिक गोर्खा सैनिक स्मारक पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

सिग्देलको बेलायत भ्रमणले दुई देशको आपसी सम्बन्ध तथा सैनिक कूटनीतिकमार्फत नेपालको पराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू